बारा । राष्ट्रिय जनमोर्चाले देशब्यापी आयोजना गरेको एमसीसी विरुद्धको विरोध कार्यक्रम अन्तर्गत बारा जिल्लामा पनि प्रदर्शन भएको जानकारी प्राप्त भएको छ ।
अखिल नेपाल शिक्षक महासंघका केन्द्रीय सदस्य हरिप्रसाद भट्टराईका अनुसार सोमबार बाराको जितपुर सिमरा उपमहानगरपालिका १५ डुमरवाना बजारमा विरोध प्रदर्शन गरिएको हो । जुलुशमा सहभागीहरुले एमसीसी खारेजी तथा सिमानामा भारतीय हस्तक्षेपको विरोध गर्दै विभिन्न नारासहित बजार परिक्रमा गरेका थिए ।
राजमो प्रदेश समितिका कोषाध्यक्ष शेर बहादुर कार्कीको अध्यक्षता भएको कार्यक्रममा राजमो केन्द्रीय सदस्य एवं जिल्ला अध्यक्ष कर्ण बहादुर थापा र नेकपा (मसाल) बाराका प्रवक्ता रमेश भट्टराईले सम्बोधन गर्नुभएको थियो ।
शिक्षक महासंघका केन्द्रीय सदस्य हरिप्रसाद सापकोटाले सञ्चालन गर्नुभएको कार्यक्रममा तराई मधेश जनवादी मोर्चाका केन्द्रीय उपाध्यक्ष दीपक चौधरी, राजमो नेताहरु धर्मानन्द सुवेदी र जीवन भट्टराईको आतिथ्यता रहेको थियो ।