कल्पना पौडेल ‘जिज्ञासु’ ##
‘कहाँ जालास् मछली मेरै ढडिया’ मनमनै गम्दै थियो विदुर । उसको मुहारमा विश्वयुद्ध जितेको भाव झल्कियो ।
गर्ल्याम्म आवाजले सासूआमा दगुर्दै आइन् ।
‘बर्स्यौदी छोराछोरी पाएकै हो । मेलापात जाँदा जन्मिएकालाई भारीसँगै बोकेर ल्याएको ज्यान यही हो । न्वारान सकिएकै दिनबाट घाँस दाउरा गरेकै हो । अहिलेका बुहारीको नौटङ्की’ मुर्छा परेर भुइँमा ढलेकी बुहारीतर्फ इङ्गित गर्दै विष ओकेलिन् सासूले ।
होसमा आएपछि रगतको आहालबाट बिस्तारै उठेर ओछ्यानमा पल्टिँदै पितृसत्तात्मक समाजको सोचलाई धिक्कार्दै थिइन् विमला ।
‘भोक, प्यास र निद्राजस्तै प्राकृतिक आवश्यकता हो ज्यानको लागि ज्यान । घरमा भैँसी ब्याई गाउँमा बेगौती खोज्न जाँदैन कोही’ सासूले पोलेको घाउमा अझै नुन छर्किदिइन् ।
सुत्केरी दिदी विमलालाई भेट्न आएकी बहिनी निशाले बोल्दै गरेको फोन राखेर अर्को कोठाबाट निस्किएर भनिन्– ‘हजुरको जमानाजस्तो होइन आमा । अहिले समय फेरिएको छ । आफ्नो चाहनाबिना श्रीमानको आज्ञा मानेर जबर्जस्ती गरिने यौनसम्पर्क मुलुकी ऐनअनुसार वैवाहिक बलात्कार हो । यसलाई कानुनमा दण्डनीय मानिन्छ ।’
उनले थपिन्– ‘सुत्केरी श्रीमतीलाई जबर्जस्ती गरेर यौनप्यास मेटाउने पिपासु श्रीमानलाई कडा कारबाही होस् ।’
अर्को दिन प्रहरीले विदुरलाई गिरफ्तार गऱ्यो ।
(खजुरा, बाँके)