• समाचार
  • राजनीति
  • प्रवास
  • अन्तर्वार्ता
  • विचार
  • कला/साहित्य
  • शिक्षा
  • स्वास्थ्य
  • खेलकुद
  • फिचर
  • थप
    • भिडियो
    • समाज
    • पर्यावरण
    • English
  • ePaper
×
आइतबार, साउन १०, २०८३
    • समाचार
    • राजनीति
    • प्रवास
    • अन्तर्वार्ता
    • विचार
    • कला/साहित्य
    • शिक्षा
    • स्वास्थ्य
    • खेलकुद
    • फिचर
    • थप
      • भिडियो
      • समाज
      • पर्यावरण
      • English
    • ePaper

भर्खरै

जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

भुजमा मूल प्रवाहको नगर समिति गठन

नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

गुजरातको मोर्बीमा मूल प्रवाहको नगर समिति गठन

लोकप्रिय समाचार

  • १. दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

  • २. अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

  • ३. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

  • ४. मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

  • ५. उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

  • ६. जुन गाउँले मलाई धेरै दियो

  • ७. अन्नपूर्ण क्षेत्रमा लेक लागेर २५ पर्यटकको मृत्यु

  • ८. रास्वपा सांसद पौडेललाई दलियो कालोमसी

  • ९. वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिकाबारे विचारगोष्ठी

  • १०. अब मृत्युपछि पनि कर लाग्ने

‘कामरेड जलजला’ उपन्यासको बहुआयामिक क्यानभास

"सन्दर्भ 'कामरेड जलजला’ उपन्यास–१९ "

  •   आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
  • मोहनविक्रम सिंह ##

    Advertisement

    १. कुनै चित्रकारले कुनै चित्र कुनै कपडा वा माटो, कागजमा बनाउँछ, त्यसैलाई क्यानभास भनिन्छ । उपन्यासको पनि आफ्नो एउटा बेग्लै र विशिष्ट प्रकारको क्यानभास हुन्छ । उपन्यासको क्यानभास भन्नाले ती सबै भौगोलिक, वैचारिक, सामाजिक वा राजनीतिक, सांस्कृतिक पृष्ठभूमि, वातावरण आदिलाई लिनुपर्दछ । बेग्लाबेग्लै उपन्यासका क्यानभास बेग्लाबेग्लै प्रकारका हुन्छन् । ‘कामरेड जलजला’ उपन्यासको पनि आफ्नो बेग्लै प्रकारको ढाँचा रहेको छ, जसमाथि त्यसको कथानक टिकेको छ । त्यो क्यानभास बहुआयामिक रहेको छ ।

    २. उपन्यासको प्रारम्भ कुमाउँ, अल्मोडाको कौसानीबाट सुरु हुन्छ तर त्यहाँबाट त्यसको विस्तार हुँदै जान्छ । त्यहाँबाट उपन्यास पूरै कुमाउँमा फैलिन्छ । त्यहाँबाट त्यो भैरहवा जेल हुँदै काठमाडौँ उपत्यका, नवलपरासी, बुटवल, लुम्बिनी, कपिलवस्तुतिर फैलिँदै जान्छ । त्यसपछि उपन्यासको गति गोरखपुर, वाराणसी हुँदै लखनऊ पुग्दछ र त्यहाँबाट त्यसको प्रवेश फ्रान्सको पेरिसतिर हुन्छ । पेरिसबाट उपन्यासले जर्मनी, रुस र युनानमा प्रवेश गर्छ । त्यसपछि उपन्यास पुनः भारततिर फर्कन्छ र त्यसको प्रवाह कपिलवस्तु, प्युठान र रोल्पा हुँदै थबाङमा गएर टुङ्गिन्छ । निश्चय नै त्यसको उपसंहार वाराणसीको गङ्गा नदीको एउटा मोटरबोटमा हुन्छ ।

    ३. माथि उपन्यासको क्यानभासको सामान्य भौगोलिक विवरणको नै वर्णन गरियो तर उपन्यासको क्यानभास सम्पूर्ण ब्रह्माण्डसम्म फैलिएको छ । उपन्यासमा अन्तरिक्षको यात्रा चन्द्रमाबाट सुरु हुन्छ र त्यहाँबाट त्यो सम्पूर्ण सौर्यजगत्, दुधपथ, तारामण्डल, अरू लाखौँ, करोडौँ सुपर तारामण्डल हुँदै त्यसले सम्पूर्ण ज्ञात विश्वको परिभ्रमण गर्दछ तर कुरा त्यहीँसम्म सीमित रहँदैन । उपन्यासले यो परिकल्पना गर्दछ कि ज्ञात ब्रह्माण्डबाहेक अरू अज्ञात र ब्रह्माण्ड पनि हुन सक्दछन् । अन्तरिक्षबाट पृथ्वीतिर फर्कदा उपन्यासले विश्वका सबै महाद्वीप र महासागरमा पनि प्रवेश गर्दछ । त्यसरी उपन्यासको क्यानभास सम्पूर्ण पृथ्वी, सम्पूर्ण सौर्यजगत् तथा सम्पूर्ण ब्रह्माण्ड र अज्ञात विश्वसम्म पनि फैलिएको हुन्छ ।

    ४. ‘कामरेड जलजला’ उपन्यासले मानव समाज वा जीवनका विभिन्न पक्षमा पनि प्रवेश गर्ने प्रयत्न गरेको पाइन्छ । उपन्यासको प्रारम्भ कुमाउँबाट हुन्छ । कुमाउँको चर्चा मुख्य रूपले सुनन्दासित जोडिएको छ । त्यसैले उपन्यासले सुनन्दालाई बुझ्नका लागि सम्पूर्ण कुमाउँलाई बुझनुपर्ने आवश्यकतामा जोड दिन्छ । त्यो कुराको उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– “सुनन्दा कुमाउँकी छोरी हुन् । उनी कुमाउँको माटो, हावापानी, वनजङ्गल, नदीनाला, चराचुरुङ्गी, बाघभालु, भेडाबाख्रा, अग्ला पर्वतश्रेणी, ती पर्वतका छेउछाउमा प्राचीन कालदेखि बस्दै आएका प्रजाति, जाति/जनजाति, उनीहरूको इतिहास, सभ्यता, भाषा, संस्कृति, त्यहाँको प्रकृति, मानव समाजमा बेलाबेग्लै कालमा हुने गरेका परिवर्तन, उथलपुथल, विकासका क्रम, प्रक्रिया आदि सबैका सम्मिलित सन्तान हुन् । त्यसकारण ती सबैबाट अलग गरेर उनलाई हेर्नु वा बुझ्नु सम्भव छैन ।

    उनको शारीरिक बनावट मात्र होइन, उनको स्वभाव, चरित्र, मनोविज्ञान, व्यक्तित्वको संरचना, चिजलाई हेर्ने र बुझ्ने सोचाइको प्रकृति, स्तर वा क्षमता, सम्पूर्ण विश्वलाई हेर्ने दृष्टिकोण ती सबै उपर्युक्त कुराबाट प्रभावित छन् । त्यसैले हामीले माथिका सबै चिजका बिचमा वा पृष्ठभूमिमा राखेर नै उनलाई बुझ्ने प्रयत्न गर्नुपर्दछ ।”

    ५. त्यसरी अर्को शब्दमा के भन्न सकिन्छ भने उनी सम्पूर्ण कुमाउँकी आत्मा, प्रतिनिधि वा मूर्त रूप हुन् । उपन्यासमा उनलाई त्यही रूपमा नै चित्रित गर्ने प्रयत्न गरिएको छ तर कुरा त्यहीँसम्म मात्र सीमित रहँदैन । कुमाउँबाट बाहिर निस्किनुका साथै उनको व्यक्तित्वमा अरू उच्च आयाम थपिदै जान्छन् । उनको व्यक्तित्वमा त्यस प्रकारको विकास यसकारणले आवश्यक हुन्छ– “जलजलाबारे लेखिएको यो उपन्यास सुनन्दाबिना अगाडि बढ्न सक्दैन । उपन्यासले गति लिन सक्दैन । त्यसकारण उपन्यासको प्रारम्भ सुनन्दाबाट गर्नु आवश्यक हुन्छ । उनलाई त्यस उचाइमा पुऱ्याउनुपर्ने आवश्यकता हुन्छ, जसका आधारमा उनले उपन्यासको प्रवाहलाई अगाडि बढाउन सकुन् । कामरेड जलजलाको व्यक्तित्वलाई उच्चतम रूपमा बाहिर ल्याउनका लागि सशक्त भूमिका खेल्न सकुन् । त्यही उद्देश्यमाथि ध्यान दिएर नै उपन्यासमा प्रारम्भदेखि नै सुनन्दाको व्यक्तित्वलाई उच्च तहमा निर्माण गर्ने प्रयत्न गरिएको छ ।

    ६. कुमाउँका अरू पनि कैयौँ पक्ष छन् । प्रथमतः प्राकृतिक दृष्टिकोणले कुमाउँ धेरै नै सुन्दर छ । कुमाउँको त्यो सौन्दर्य उच्चतम रूपमा नन्दादेवी हिमालमा अभिव्यक्त भएको छ । उपन्यासमा नन्दादेवी हिमाल सुनन्दामा र सुनन्दा नन्दादेवी हिमालमा अन्तरनिहित भएको बताइएको छ । त्यसरी सुनन्दा र नन्दादेवी हिमाल बेग्लै हुन् । त्यसका साथै उनीहरू एउटै हुन् । एउटै भएर पनि उनीहरू पुनः बेग्लाबेग्लै हुन् ।

    ७. कुमाउँमा लक्ष्मी आश्रम छ । लक्ष्मी आश्रम सबैभन्दा बढी सरला बहनका कारणले चिनिन्छ । सरला बहनको व्यक्तित्व यसकारणले सबैभन्दा बढी प्रसिद्ध छ कि उनी एउटी स्विडिस युवती थिइन् तर उनले आफ्नो सम्पूर्ण जीवन कुमाउँका ग्रामीण महिलामा शिक्षाको विस्तारका लागि समर्पण गरेकी थिइन् । त्यसैले उनी त्याग, सेवा र तपस्याकी मूर्त रूप थिइन् । लक्ष्मी आश्रम र सरला बहनको त्यही त्याग, सेवा र तपस्याको वातावरणमा सुनन्दाको पनि व्यक्तित्वको विकास भएको थियो ।

    ८. कुमाउँ वातावरणको रक्षाका लागि चलेका कैयौँ चिपको आन्दोलनका लागि पनि प्रसिद्ध छ । चण्डेश्वरी र गौरीदेवीको नेतृत्वमा सन् १९७३ मा कुमाउँमा चलेको चिपको आन्दोलन विश्वव्यापी रूपमा प्रख्यात छ । मालतीदेवीको नेतृत्वमा जङ्गलको रक्षाका लागि खुराकोटमा पनि ऐतिहासिक आन्दोलन चलेको थियो ।

    ९. कुमाउँ सुन्दरलाल बहुगुणा र बिमला बहुगुणाजस्ता समाजसेवाका लागि जीवनभर समर्पित विभूतिको लागि पनि प्रसिद्ध छ । कुमाउँका भारतीय स्वतन्त्र सङ्ग्राम, राजाविरोधी आन्दोलन र क्रान्तिकारी कम्युनिस्ट आन्दोलनका पनि कैयौँ स्वर्णिम पाना रहेका छन् । पर्यटकीय दृष्टिकोणले पनि कुमाउँ प्रसिद्ध छ । इतिहास र साहित्यको क्षेत्रमा पनि त्यसका महत्त्वपूर्ण देन रहेका छन् । कुमाउँको त्यस प्रकारको क्यानभासले उपन्यासको कथानकलाई माथि उठाउन वा कैयौँ सजीव पात्रको निर्माण गर्न धेरै नै मदत पुगेको छ ।

    १०. कुमाउँपछि उपन्यासले नेपालमा प्रवेश गर्दछ । नेपालमा उपन्यासको प्रवेश भैरहवा जेलबाट हुन्छ । उपन्यासमा त्यो जेलको वस्तुगत, गहन र विस्तृत रूपले चित्रण गरिएको छ । उपन्यासमा त्यो जेलभित्र माटाले बनाइएका आलमारीमा भूमिगत रूपले राखिएको मार्क्सवादी–लेनिनवादी पुस्तक राखिएको कुराको चर्चा छ । त्यो चर्चा सत्यमाथि आधारित थियो । त्यो जेलमा भूमिगत रूपले राखिएका पुस्तकबाट नै सुनन्दाको मार्क्सवादी–लेनिनवादी दिशामा रूपान्तरणको प्रक्रिया सुरु भएको थियो । त्यति मात्र होइन, त्यो जेलमा बसेका कारणले सुनन्दाले नेपालको राजनीतिक र सामाजिक जीवनलाई नजिकबाट चिन्ने मौका प्राप्त गरेकी थिइन् । त्यसरी भैरहवा जेल उनका लागि नेपालको प्रवेशद्वार नै बन्न पुगेको थियो ।

    ११. काठमाडौँ उपत्यका उपन्यासका लागि एउटा महत्त्वपूर्ण क्यानभास बनेको छ । काठमाडौँ उपन्यकासित जोडिएका स्वयम्भूनाथको मन्दिर, अष्टमातृकाका मूर्ति, पशुपतिनाथको मन्दिर आदि सबैले उपन्यासका लागि धेरै सामग्री प्रदान गर्दछन् । काठमाडौँ उपत्यकाको अर्को महत्त्वपूर्ण पक्ष यो थियो कि त्यसले राजाको शासन र पञ्चायती राजको वास्तविक चित्रणलाई पनि उदाङ्गो बनाइदिन्छ । काठमाडौँ उपत्यका मात्र होइन, नेपालभरि कति व्यापक रूपमा भ्रष्टाचार हुन्थे ? राजपरिवार कसरी भ्रष्टाचार र तस्करीमा सामेल हुन्थ्यो ? देशभरि महिलामाथि कति धेरै बलात्कार र हत्या हुन्थे ? ती सबै कुराको पनि प्रत्यक्ष रूपले ज्ञान भएको थियो । बाहिरको संसारमा यो भ्रम थियो कि राजा स्वयम्सित धेरै सम्पत्ति भएको हुनाले उनले भ्रष्टाचार गर्दैनथे र राजाको कडा शासनले गर्दा अरूले पनि भ्रष्टाचार गर्न पाउँदैथे । राजाको शासनअन्तर्गत शान्ति र सुव्यवस्था थियो तर ती सबै कुरा भ्रम मात्र थिए । काठमाडौँ उपत्यकासित जोडिएको अर्को महत्त्वपूर्ण पक्ष योगमायाको गाथा थियो । त्यो गाथा भोजपुरमा करिब ६० जना महिलाद्वारा सामूहिक रूपले जलसमाधिको घटनासित जोडिएको थियो ।

    १२. उपन्यासमा चितवनको पनि विस्तृत रूपले चित्रण गरिएको थियो । त्यसलाई नेपालको छयहत्तरौँ जिल्लाको रूपमा व्याख्या गरिएको थियो । छयहत्तरौँ जिल्ला यसकारणले कि त्यहाँ नेपालका अन्य सबै जिल्लाका मानिस आएर बसोबास गरेका थिए । त्यसैले त्यो जिल्लाका मानिसमा अन्य जिल्लाका मानिसमा जस्तो परम्परागत वा रूढिवादी सोचाइको अधिकता थिएन । त्यसरी चितवन जिल्ला प्रकारान्तरले अमेरिकाजस्तै थियो, जहाँ युरोपका कैयौँ देशका मानिसले आएर बसोबास गरेका थिए र त्यसरी उनीहरूले त्यहाँ एउटा नयाँ प्रकारको सभ्यता, संस्कृति र राष्ट्रियतालाई नै जन्म दिएका थिए ।

    १३. त्यसपछि उपन्यासले प्राचीन वा प्राग्ऐतिहासिक सभ्यताको क्षेत्रमा प्रवेश गर्दछ । त्यस सिलसिलामा नवलपुरको ढुङ्गेयुगीन सभ्यता, पाल्पाको तिनाउ नदीको तिरमा रामापिथेकस प्राणी, होमोसेपियन मानव, प्राचीन बौद्धकालीन सभ्यता, थारू, मगर र खसजातिको प्राग्ऐतिहासिक इतिहास, दाङदेउखुरीको ढुङ्गेयुगीन सभ्यता आदिको वर्णन गरिन्छ । त्यस प्रकारको क्यानभासले उपन्यासलाई वर्तमानबाट धेरै टाढा अतीतको गर्भमा पुयाइदिन्छ ।

    १४. उपन्यासको क्यानभास त्यहीँसम्म मात्र सीमित रहँदैन, त्यो मानव जातिको इतिहास सुरु हुनुभन्दा धेरै पहिलेका प्राग्ऐतिहासिक कालसम्म पनि फैलिन्छ । कर्णाली नदी वा रारातालका उदाहरणले त्यही कुरा बताउँछन् । ती दुवै हिमालयको उत्पत्तिभन्दा पहिले अहिले हिमालय रहेको स्थान टेथिस महासागरसित सम्बन्धित छन् । त्यसरी कर्णाली प्रदेशको इतिहास अत्यन्त प्राचीन र गौरवमय छ तर त्यसको इतिहासको ठुलो भाग लुप्त र ज्ञात छ तैपनि अहिलेसम्म त्यसको इतिहासबारे खस, बाइसे राज्य, मष्ट, मतवाली क्षेत्री त्यहाँको संस्कृति, गीत, नृत्य, पुराना कथा र गाथा, त्यहाँका जाति र जनजाति आदिबारे जे जति ज्ञान प्राप्त छ, त्यो पनि कम महत्त्वपूर्ण छैन । त्यसले पनि उपन्यासका लागि महत्त्वपूर्ण सामग्री प्रदान गरेको छ ।

    खास गरेर गढवाल कुमाउँसितको त्यसको सम्बन्ध बढी महत्त्वपूर्ण रहेको छ किनभने खसले गढवाल कुमाउँ हुँदै नेपालमा प्रवेश गरेका थिए । कुमाउँसितको अहिलेको सुदूरपश्चिमको सम्बन्ध त्यहाँ प्रचलित देउडा नृत्यबाट पनि थाहा हुन्छ । सुदूरपश्चिममा प्रचलित देउडा नृत्यको कुमाउँमा प्रचलित कुमाउनी झोरा नृत्यसित घनिष्ठ सम्बन्ध रहेको कुराको सजिलैसित अनुमान गर्न सकिन्छ । त्यसले पनि सुदूरपश्चिम र कुमाउँ–गढवालसित घनिष्ठ सम्बन्ध रहेको कुरालाई बताउँछ ।

    १५. उपन्यासमा गोरखपुर, बनारस, लखनऊ, दिल्ली र केरलको त्रिभेन्द्रम सहरको पनि विस्तृत रूपले चर्चा गरिएको छ । उपन्यासको कथानक ती सहरसित पनि सम्बन्धित रहेको छ ।

    उपन्यासको क्यानभासको अर्को महत्त्वपूर्ण क्षेत्र युरोप हो । उपन्यासमा फ्रान्स, जर्मनी, रुस र युनान देशबारे विस्तृत र गहन रूपले प्रकाश हालिएको छ भने त्यसको आधुनिक, सामाजिक, राजनीतिक वा सांस्कृतिक पक्षको पनि चर्चा गरिएको छ । फ्रान्सको मध्यकालीन र वर्तमान इतिहास, अङ्ग्रेज विरुद्धको युद्ध र त्यसका सन्दर्भमा गरिएको महान् बलिदान त्यहाँको अद्वितीय कला र सौन्दर्यको विवरण, वामपन्थी क्रान्तिकारी आन्दोलनको गौरवपूर्ण इतिहास, त्यहाँका महान् प्रेमगाथा आदिको पनि चर्चा गरिएको छ ।

    १६. जर्मनीको चर्चा गर्दा दर्शन र साहित्यको क्षेत्रमा त्यसको महान् देन, मार्क्सवादी दर्शनको उदय, हिटलरको फासिवाद र त्यसले मच्चाएको आतङ्क र यातनागृहमा गरेको भीषण नरसंहार त्यसका विरुद्ध जर्मन जातिको वीरतापूर्ण प्रतिरोध तथा फासिवादका विरुद्ध कम्युनिस्टले खेलेको ऐतिहासिक भूमिकाको पनि उल्लेख गरिएको छ ।

    उपन्यासमा रुसको चर्चालाई पनि विशेष महत्त्व दिएर प्रस्तुत गरिएको छ । मानव जातिको सम्पूर्ण इतिहासमा नै त्यहाँ प्रथमपल्ट समाजवादी क्रान्ति सम्पन्न भएको थियो । त्यहाँ लेनिनको नेतृत्वमा समाजवादी क्रान्ति भएको थियो भने स्तालिनको नेतृत्वमा त्यहाँ समाजवादको उच्चतम रूपमा विकास हुनुका साथै समाजवादी व्यवस्थाले विश्वव्यापी व्यवस्थाको रूप ग्रहण गरेको थियो तर सायद मानव जातिको नै इतिहासको एउटा ठुलो दुखान्त पक्ष यो थियो कि त्यहाँ प्रतिक्रान्ति भएर समाजवादी व्यवस्थाको पतन भएको थियो र पुँजीवाद पुनर्स्थापना भएको थियो, जसले अब साम्राज्यवादको रूप लिइसकेको छ । रुसको अर्को ऐतिहासिक र महत्त्वपूर्ण पक्ष यो थियो, हिटलरको आक्रमणका विरुद्ध स्तालिनको कुशल नेतृत्वमा सोभियत जनताको सेनाले सोभियत जनताको वीरतापूर्ण प्रतिरोध, खास गरेर स्तालिनग्रादको युद्धमा स्तालिनको रणनीतिक कुशलता, जसको परिणामस्वरूप पूरै द्वितीय विश्वयुद्धमा नै हिटलरको निर्णयात्मक हार भएको थियो ।

    १७. उपन्यासमा युनानको चर्चालाई पनि महत्त्वपूर्ण स्थान दिइएको छ । त्यो दार्शनिकको प्राचीन भूमि हो । त्यसका साथै त्यसको इतिहास पनि अत्यन्त प्राचीन र गौरवमय रहेको छ । त्यसको इतिहासमा जोलङ्गोको नाचजस्ता महान् बलिदानका कथा पनि समावेश छन् ।

    उपन्यासमा युरोपलाई दर्शन, क्रान्ति र बलिदानको महाद्वीपका रूपमा उल्लेख गरिएको छ । वास्तवमा त्यो दर्शन, क्रान्ति र बलिदानको महाद्वीप नै हो । युनानका सुकरात, प्लेटो तथा जर्मनीका मार्क्स र एङ्गेल्सजस्ता दार्शनिकले सम्पूर्ण संसारलाई वैचारिक रूपले प्रभावित गरेका छन् । युरोपमा सेक्सपियर (ग्रेट ब्रिटेन), भिक्टर, ह्युगो (फ्रान्स), गोथे (जर्मनी), लियो टल्सटाय (रुस) र होमर (युनान) जस्ता महान् साहित्यकार पनि पैदा भएका छन् । त्यहाँ ज्ञानविज्ञान, इतिहास वा क्रान्तिकारी आन्दोलनको क्षेत्रमा पनि कैयौँ महान् विभूति पैदा भएका छन् । त्यसरी युरोप उपन्यासको एउटा महत्त्वपूर्ण क्यानभासका रूपमा प्रस्तुत भएको छ ।

    उपन्यासले युरोपका साथै एसिया, अफ्रिका, उत्तर अमेरिका, ल्याटिन अमेरिका, अस्ट्रेलिया र उत्तरी ध्रुवसमेतलाई समेटेको छ । त्यसै गरेर त्यसमा संसारका सबै महासागरको पनि उल्लेख गरेको छ ।

    मानव जातिको इतिहासको एउटा अर्को एउटा दुखद पक्ष यो हो कि विश्वमा प्राग्ऐतिहासिक कालमा निर्माण भएका कैयौँ महान् मानव सभ्यता नष्ट भएका छन् । त्यस प्रकारका सभ्यतामा अमेरिकाको माया सभ्यता, हडप्पा र सिन्धुघाँटीको सभ्यता, बेबिलोन र मेसोपोटामियाको सभ्यता आदि उल्लेखनीय छन् । यो अनुमान गरिन्छ कि अहिलेको अमेजन जङ्गलमा पनि उच्च मानव सभ्यताको विकास भएको थियो ।

    १८. उपन्यासले सम्पूर्ण अन्तरिक्षसमेत पूरै पृथ्वीलाई पनि आफ्नो क्यानभास बनाएको छ । त्यसरी उपन्यासको मुख्य जोड सम्पूर्ण मानव जाति र धर्ती मात्र होइन, सम्पूर्ण ब्रह्माण्ड र अहिलेसम्म पत्ता नलागेका विश्वलाई पनि समेट्ने प्रयत्न गरेको छ । त्यसले सम्पूर्ण मानव जाति र विश्वलाई एउटै अभिन्न एकाइको रूपमा बुझ्ने र प्रस्तुत गर्ने प्रयत्न गरेको छ । उपन्यासको प्रधान पक्ष पनि त्यही हो । उपन्यासको त्यो दार्शनिक अवधारणा उपन्यासको प्राक्कथनको प्रारम्भमा नै व्यक्ति र विश्व दुवै एकअर्कामा अन्तरनिहित भएको र दुवै आपसमा अभिन्न भएको भनाइद्वारा व्यक्त गरिएको छ ।

    उपन्यासको जोड एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर संसार निर्माणमा रहेको छ । आज संसारमा जुन प्रकारको दूषित र विशाक्त मानसिकता विद्यमान छ, त्यसले गर्दा नै संसार नर्क बन्न गएको छ । त्यसकारण उपन्यासले त्यस प्रकारको मानसिकतामा आमूल सांस्कृतिक रूपान्तरणमा जोड दिन्छ । त्यसका लागि मानव जातिसित एउटा अमोघ अस्त्र पनि छ† त्यो हो– आमाको सन्तानप्रतिको माया । आमाको सन्तानप्रतिको माया निस्वार्थ हुन्छ । उनीहरू आफ्ना सन्तान कल्याणका लागि सबै कष्ट उठाउन तयार हुन्छन् । आफ्ना सन्तानको सेवा र सुखको लागि व्यहोर्ने सबै दुःखकष्टमा उनीहरूले सुखानुभूतिको अनुभव गर्दछन् । सायद मानव जातिमा मात्र होइन, आमाको त्यस प्रकारको भावना सम्पूर्ण प्राणीजगत्मा पनि फैलिएको हुन्छ तर त्यसको कमजोरी यो छ कि आमाको त्यस प्रकारको माया खालि आफ्ना सन्तानप्रति मात्र हुन्छ । हामीले त्यो साँधलाई तोडिदिनुपर्दछ । आमाको मायालाई विश्वमय बनाइदिनुपर्दछ । अर्का शब्दमा सम्पूर्ण विश्वलाई आमामय बनाइदिनुपर्छ । त्यसपछि नै अहिले नर्कजस्तो भएको संसार स्वर्ग बन्नेछ ।

    उपन्यासमा उल्लेख गरिएको आमाको मायालाई विश्वमय बनाइदिने र त्यसरी नर्कमय बनेको संसारलाई स्वर्गमय बनाइदिने सोचाइ एउटा काल्पनिकजस्तो लाग्न सक्दछ तर उपन्यासले यो कुरामा जोड दिन्छ कि त्यस प्रकारको सोचाइ पूरै काल्पनिक होइन । त्यसरी सोच्नका लागि दुईओटा आधार छन् ।

    प्रथम– समाजमा मानिसको सोचाइ खालि व्यक्तिवादी र स्वार्थपरायण मात्र हुँदैन । प्राचीनकालदेखि नै समाजमा सामूहिक वा सामाजिक प्रकारको सोचाइ पनि ठुलो पैमानामा रहने गरेको छ । खास गरेर प्राचीन जङ्गली वा आदिम साम्यवादी समाजमा ता त्यस प्रकारको सोचाइ अत्यधिक रूपमा पाइन्थ्यो । पछि शोषणप्रधान समाजमा व्यक्तिवादी र स्वार्थपरायण सोचाइ बढ्दै गए । खास गरेर पुँजीवादी समाजमा त्यस प्रकारको सोचाइ धेरै नै बढेर गयो । जति जति समाजमा व्यक्तिगत सम्पत्ति र नाफाको प्रभुत्व कायम हुँदै गयो, व्यक्तिवादी र स्वार्थपरायण सोचाइ झन् व्यापक बन्दै गए तैपनि समाजमा करिब करिब समानान्तर प्रकारले सामाजिक वा सामूहिक सोचाइ धेरै नै पाइन्छन् । समाजमा खालि स्वार्थ मात्र हुँदैन, सामाजिक सेवा, परोपकारको भावना वा सामूहिक हितको लागि सामूहिक रूपले सङ्गठित भएर काम गर्ने वा सङ्घर्ष गर्ने प्रवृत्ति पनि धेरै पाइन्छन् । परिवार, गाउँघर, छरछिमेकी आदिमा पनि त्यस प्रकारका सोचाइ धेरै नै पाइन्छन् । उपन्यासले त्यस प्रकारका सोचाइका आधारमा समाजमा व्यक्तिगत स्वार्थबाट माथि उठेर सामाजिक हितको लागि उच्चतम प्रकारले काम गर्ने सोचाइको विकासको लागि व्यवहारिक रूपमा पनि लागु हुने सम्भावनालाई देख्दछ ।

    द्वितीय– मार्क्सवादी–लेनिनवादी दर्शनले समाजका सबै व्यक्तिवादी सोचाइको जग व्यक्तिगत सम्पत्तिलाई नै ठान्दछ । समाजवादी क्रान्तिले सम्पूर्ण रूपले व्यक्तिगत सम्पत्तिको ता अन्त्य गर्दैन तर उत्पादनका सबै साधनमाथिको व्यक्तिगत सम्पत्ति र त्यसका आधारमा गरिने सबै प्रकारको शोषणलाई अन्त्य गर्दछ । साम्यवादी समाज या व्यक्तिगत सम्पत्तिको सम्पूर्ण रूपले उन्मूलन हुन्छ र व्यक्तिगत सम्पत्तिमाथि आधारित सबै व्यक्तिगत भावनाको पनि अन्त्य हुन्छ । त्यसको परिणामस्वरूप मानिसका सोचाइमा क्रान्तिकारी रूपान्तरण हुन्छ । त्यो अवस्थामा आमाको सन्तानप्रतिको मायाले विश्वमय रूप लिने कुरा व्यावहारिक रूपले नै सत्य हुनको लागि आधार तयार हुन्छ । त्यसरी उपन्यासले यो देखाउने प्रयत्न गरेको छ कि आमामय विश्वको एउटा अवधारणा कल्पना मात्र नभएर वास्तविक रूपमा नै सत्य हुन सक्दछ । अहिले पनि विभिन्न स्तरमा मानिसको त्यस प्रकारको सोचाइले व्यावहारिक रूप लिँदै गएको कुरा देखिन्छ ।

    उपन्यासले प्रेमलाई पनि उच्च धरातलमा स्थापित गर्ने प्रयत्न गरेको छ । प्रेम भन्नाले आमा र छोराछोरी, पति र पत्नी, प्रेम र प्रमिका, दाजुभाइ, दिदीबहिनी, परिवारका विभिन्न सदस्य, नालनाता, साथीभाइ, इष्टमित्र आदिका बिचको प्रेमलाई नै बुझ्नुपर्दछ तर अहिलेको समाजमा प्रेम अधिकतर अवस्थामा धनसम्पत्ति, व्यक्तिगत लाभ वा स्वार्थमाथि नै आधारित भएको देखिन्छ । उपन्यासले प्रेमलाई निस्वार्थ रूपमा कायम हुनुपर्ने कुरामा जोड दिन्छ । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर निस्वार्थ रूपले गरिने प्रेम नै सच्चा प्रेम हो । समाजमा त्यस प्रकारको प्रेम पनि प्रशस्त पाइने गर्दछ । खास गरेर आमाको आफ्ना सन्तानप्रतिको माया त्यसको श्रेष्ठ उदाहरण हो तर आमाको सन्तानप्रतिको मायालाई छाडेर समाजमा अधिकतर अवस्थामा एकअर्काप्रति पाइने प्रेम प्रायः सङकीर्ण घेरामा नै रहेको पाइन्छ । सम्पूर्ण समाजको हितलाई केन्द्रमा राखेर वा त्यो उद्देश्यलाई पूरा गर्नका लागि नै आपसमा प्रेम गर्ने सोचाइ उत्कृष्ट प्रकारको प्रेम हो । त्योभन्दा बढी विद्यमान शोषणप्रधान समाजलाई बदल्नको लागि गरिने प्रयत्न, सङ्घर्ष वा क्रान्तिको लागि सम्पूर्ण रूपले समर्पण वा बलिदानका लागि कटिबद्धतासहित गरिने प्रेम सर्वश्रेष्ठ प्रेम हो । उपन्यासले त्यस प्रकारको प्रेममा सबैभन्दा बढी जोड दिएको छ ।

    उपन्यासको सम्पूर्ण संरचना सर्वहारा अन्तर्राष्ट्रवाद वा विश्व बन्धुत्वको भावनामाथि आधारित छ । उपन्यासले सम्पूर्ण विश्वको परिभ्रमण गर्दछ तर त्यसरी संसारभरिको परिभ्रमण गर्दा सबै देश वा जातिप्रति, मानव मात्रप्रति, अगाध प्रेम वा उच्च सम्मान प्रकट गरिएको छ ।
    उपन्यासमा सबै प्रकारका शोषण व्यवस्था, दासयुग, सामन्तवाद, पुँजीवाद वा साम्राज्यवादको विरोध गरिएको छ । उपन्यासले यो स्पष्ट गरेको छ कि विद्यमान शोषणप्रधान व्यवस्थाका कारणले नै मानव समाजमा ऐतिहासिक कालदेखि नै शत्रुता, वैमनस्यता वा अशान्तिको वातावरण व्याप्त हुँदै आएको छ । युद्ध, महायुद्ध वा विश्वयुद्ध हुने गर्दछन् । मानिसद्वारा एकअर्कामाथिको शोषण, उत्पीडन र भेदभावको अन्त्यपछि नै संसारभरका मानिसका बिचमा शान्ति, सद्भावना, भाइचारा र बन्धुत्वको भावना कायम हुनेछ । त्यसैले उपन्यासले विश्वस्तरमा नै त्यस प्रकारको शान्ति र विश्वबन्धुत्वको भावनामा जोड दिएको छ । त्यही नै मानवताको श्रेष्ठ र उच्चतम रूप हुनेछ ।

    उपर्युक्त जुन प्रकारको क्यानभासको आधारमा ॅकामरेड जलजला’ उपन्यासको रचना गरिएको छ, त्यसका पछाडि सम्पूर्ण विश्वलाई वा सम्पूर्ण ब्रह्माण्डलाई एउटै एकाइको रूपमा ठान्ने तथा जस्तो कि माथि पनि उल्लेख गरियो, स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर संसारको निर्माण गर्ने परिकल्पनाले नै काम गरेको छ । बताइरहनुपर्ने आवश्यकता छैन कि त्यो उद्देश्य पूरा गर्न युगयुगसम्म लाखौँ, करोडौँ योद्धाले सङ्घर्ष, त्याग वा बलिदान गर्नुपर्नेछ । निश्चय नै त्यो सङ्घर्ष सिधा रेखामा होइन, कैयौँ घुम्ती, टेडामेडा वा वक्ररेखाका बिचबाट हुँदै अगाडि बढ्नेछ । सम्पूर्ण मानवजातिको इतिहास त्यही दिशामा, निम्न चरणबाट उच्च चरणमा बढ्दै गइरहेको छ र अन्तमा त्यो सफल हुनेछ भन्ने कुरामा हामीले पूरा विश्वास गर्न सक्दछौँ ।

    आइतबार, साउन ०४, २०८२ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    कौडा गीत “सललल बग्यो गण्डकी” : संघर्ष, समानता र आशाको सांगीतिक अभिव्यक्ति
    मुन्धुम पैदलमार्ग र प्रिय सुदीप
    जुन गाउँले मलाई धेरै दियो
    जीवन र मृत्यु
    बाल स्रष्टाहरूको सिर्जनात्मक उत्सव सम्पन्न, सिर्जना डबलीको वेबसाइट विमोचन
    ‘१२ मे’ नाटक भदौ २१ गते मञ्चन हुने

    Yugdarshan

    Tweets by eyugdarshan

    लोकप्रिय

    • १.
      दुवै सदनको संयुक्त दुईतिहाइबाट संविधान संशोधन गर्ने सोचाइ फासिवादी : मसाल

    • २.
      अर्थमन्त्रीमा डा वाग्लेको सट्टा प्रमद्वारा इच्छ्याइएको व्यक्ति को हुन् ?

    • ३.
      वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी दलको भूमिका

    • ४.
      मुन्धुम पैदलमार्ग र प्रिय सुदीप

    • ५.
      उत्तम, शुद्ध क्रान्तिकारी बिउ तर अवसरवादी महत्त्वाकाङ्क्षाका भूमिका

    • ६.
      जुन गाउँले मलाई धेरै दियो

    भर्खरै

    • १.
      जंगलको दुर्लभ स्वाद ‘भुड्की च्याउ’: खसीको मासुभन्दा महँगो

    • २.
      लङ मार्चकी अन्तिम जीवित महिला रेड आर्मी योद्धा वाङ क्वानयिङको १०५ वर्षमा निधन

    • ३.
      हालसम्म ८० लाख नाघ्यो डिम्याट खाता खोल्नेको संख्या

    • ४.
      नागढुगा–सिस्नेखोला सुरुङमार्ग उद्घाटन भोलि, पूर्वप्रम ओलीको शिलालेख विवाद के हो ?

    • ५.
      बागलुङमा मोबाइल नदिएको निहुँमा साथीको हत्या

    • ६.
      देशका विभिन्न जिल्लाबाट आएका लघुवित्त पीडितको ‘राजधानी मार्च’

    • ७.
      भुजमा मूल प्रवाहको नगर समिति गठन

    • ८.
      नलियामा मूल प्रवाहको नगर समिति पुनर्गठन

    हाम्रो बारेमा

    युगज्योति प्रकाशन प्रा.लि.
    बुढानीलकण्ठ नगरपालिका–१० ज्योतिनगर
    कपन, काठमाडौं
    सूचना बिभाग दर्ता नं.
    २२४४/०७७–७८
    टेलिफोन
    कार्यालय – ०१–४१६४२६८
    ई–मेल
    eyugadarshan@gmail.com

    हाम्रो टीम

    अध्यक्ष तथा सञ्चालक
    आनन्दराज शर्मा
    व्यवस्थापक
    हरिकान्त शर्मा
    ९८४९२४९०५५

    हाम्रो टीम

    सम्पादक
    रामप्रकाश पुरी
    कार्यकारी सम्पादक
    धनवीर पुन मगर
    संवाददाता
    गोविन्दकुमार शर्मा
    चन्द्रा श्रीस

    Copyright ©2026 Yug Darshan | All rights Reserved.
     Website By :  nwTech.