विनबहादुर रेग्मी ##
सजीव चाहे मान्छे हो या चराचुरुङ्गी, जनावर, किराफट्याङ्ग्रा, आआफ्नै यात्रा हुन्छ । सृष्टि वाव जगतमा बाँच्नको लागि यो प्राकृतिक नियम नै हो । फरक यत्ति हो, मान्छेबाहेकका सजीवले लेख–अभिलेख स्मरण वा रेकर्ड राखेको अझैसम्म फेला परेको छैन ।
मान्छेमा पनि कतिपयले आफ्नो तीनपुस्तै थाहा नपाउने, आफू किन जन्मेको भनेर मानव मूल्यमान्यता नै ख्याल नगर्ने छन् । तिनीहरू होमा हो मिलाउने, “ताक परे तिवारी नत्र गोतामे” जस्ता अवसरवादी खालका हुन्छन् । समाज विकास र देशको उन्नतिमा तिनीहरू सबैभन्दा बाधक हुन्छन् । “कहिले काफल पाक्यो, कहिले बिउ कुहियो”, कहिले ऊ राम्रो, कहिले यो राम्रो अस्थिर मनस्थितिका मान्छेसँग यात्रास्मरण नै हुँदैन होला ।
जीवनयात्रा स्मरण नै नभएपछि आफूले गरेको गलत क्रियाकलापको आत्मग्लानी पश्चात्ताप भन्ने नै हुँदैन । सचेत र सङ्गठित वर्गचेत नहुँदा तिनीहरूलाई “अन्नको किरो” भन्ने गरिन्छ । मलामीको भारी, धर्तीको बोझ बनेर बाँचिरहेका ती मान्छेहरू सजीव त हुन् तर तिनीहरू जनावर र किराफट्याङ्ग्राको समूहमा पर्छन् ।
यस सन्दर्भमा एउटा लोककथाको स्मरण भइरहेको छ ।
कुनै समय गाउँमा एउटा घुमन्ते बटुवा थियो (तपाईंहरूलाई थाहा छ, बटुवाले यात्रा गर्दा कैयौँ अनुभव सँगालेको हुन्छ) । ऊसँग सुरुसुरुमा हिँड्ने खुट्टा र बाँच्नका लागि गाउँलेको घरदैलोमा माग्ने हातबाहेक सम्पत्तिको नाउँमा एउटा गादो (मागेको आटोपिठो राख्ने थैलो) मात्रै थियो । दिनभरि कहाँ जाने ? गन्तव्यको निश्चित टुङ्गो नभए पनि पाइला चलिरहेको हुन्थ्यो । दिनभरि गाउँगाउँमा घरको दैलोमा हात थापेर माग्ने, जे दिन्छन्, आटोपिठो थोरैधेरै जे जति मिल्छ, गादोमा हाल्ने गर्थ्यो ।
घाम डुबेर जहाँ रात पर्छ, त्यहीँ बास हुन्थ्यो । दिनदिनैको दिनचर्या यसरी बित्दै थियो । एक दिन अचानक माग्दै जाँदा यति धेरै पिठो जम्मा भएछ, मानौँ हप्तादिन नडुले पनि छाक टार्न सकिन्थ्यो । संयोगले त्यो दिनको बास गाउँदेखि टाढा एकान्त जङ्गलमाझको पाटीमा (बटुवालाई बस्न बनाइएको टहरोपौवा) परेछ । मन खुसीले गदगद थियो, आज गादो भरिएको थियो । उसले सन्तोषको सास फेर्दै पाटीमा ढुङ्गाको सिरानी हालेर भुइँमा उत्तानो परेर सुतेछ । आफ्नो सम्पत्ति दिनभरि जम्मा गरेको पिठोको पन्तुरो खुट्टातिरको खाबोमा झुन्ड्याएछ तर खै किन हो, आज उसलाई जति कोसिस गर्दा पनि निद्रा लागेन ।
उसले सोच्यो, आज यति धेरै पिठो जम्मा भयो, मैले खाएर सकिँदैन, भोलि पल्लो गाउँमा पनि यत्ति नै दिए भने, पर्सि अर्को गाउँमा झन् धेरै दिए भने मेरो पिठो त थुप्रै हुन्छ । एक मनले सोच्छ, गाईवस्तुलाई खुवाउँछु । फेरि सोच्छ, किन दिने ? उसले त वनभरि हरियो घाँस छ, पेट भरिहाल्छ नि । फेरि सोच्छ, गरिबदुखीलाई बाँडिदिन्छु । फेरि सोच्छ, आफै माग्ने बटुवा, मागेको पनि के बाँड्ने ?
सोच्दासोच्दै रात झन् झन् कालो हुँदै, छिप्पिँदै थियो । निद्रा लागेकै थिएन । मनमा झन् झन् हलचल पैदा भइरहेको थियो । अन्तिममा जम्मा भएको थुप्रै पिठो बेचेर पैसा बनाउने निचोडमा पुग्छ । फेरि सोच्छ, यसरी बेच्दै जाँदा जम्मा भएको पैसाले कुखुरा किनेर पाल्ने, कुखुराको अन्डा चल्ला भाले बेच्ने, जम्मा भएको पैसाले बाख्रा किन्ने, बाख्राको बथान हुन्छ । एउटा दुहुनो गाईभैँसी पनि आउँछ । ओहो झ् मैले काम गर्न सक्दिनँ । गोठसोत्तर, दुध दुहुने, दुध तताउने, दही जमाएर मुइ पार्ने, घ्यु बनाएर बजारमा बेच्न जाने मैले एक्लै कसरी सक्छु र ?
उसले सोच्यो, अब एउटी राम्री सुन्दरीलाई जीवनसाथी बनाउँछु । भ्याइनभ्याइ दिनभरि काममा पनि सघाउँछिन्, मिठोमसिनो पकाएर खान पनि दिन्छिन् । आलिसान दुईतले दलाने घरमा खोपीको छेउमा काम्लो, गद्दाको विस्तरामा रातको सुरुआत हुनेछ । श्रीमतीलाई ढाडमालिस गर्न भन्छु । एकछिनपछि खुट्टा पनि चिउरीको घ्यु लगाएर मालिस गर भन्छु । मैले जे जे भन्छु, त्यही गराउँछु । यदि नमानेपछि लात्ताले दनक दिन्छु ।
सोचनीमै दिएको लात्ताको दनक सिधै पिठोको पन्तुरामा बजारियो । पिठो भुइँभरि पोखियो । धुलोमाटोमा कामै नलाग्ने भयो । सपना देख्नु के मेरो गल्ती थियो र ? उसले त्यो रातको त्यो घटनालाई जीवनको शिक्षा मान्यो ।
भोलिपल्ट धन कमाउने धोकोसहित लाहुर हिँड्यो ।
थाहा छ नि, तपाईंहरूलाई त्यो जमानामा लाहुर जान हप्ता दिनजति हिँडेर बस, रेल भएको ठाउँसम्म पुगिन्थ्यो । मेरो स्थिति पनि करिब करिब त्यस्तै भयो जस्तो लागिरहेको छ ।
कैयौँ सयौँ हन्डरठक्कर यहाँ उल्लेख गरेर साध्य छैन । कति दिन भोकै गल्ली बाटो, दोबाटो बसअड्डा, रेल्वे स्टेसनमा फालेको जुठोपुरो, केराको बोक्रा खाएर दिन काटेको अत्रीत निकै कष्टकर छ । जिन्दगीको पूरै हिस्सा प्रवासमा बिताउने क्रममा पैसा पनि कमायो ।
धेरै वर्षपछि प्युठान भालुबाङ–सडक पिच भइसकेपछि ऊ पहिलोपटक स्वदेश फर्कियो । दाह्रीजुँगा सेतै फुलेको, कपाल आधा झरिसकेको, त्योँ कोटफुर्से उत्तर प्रदेशको गान्डा पुग्यो । त्यहाँ अन्यत्रबाट आएका प्युठान जाने लाहुरे भेटिए । एक जना भाइ आफ्नो कमाइको पैसाले गतिलो टेपरिकर्डर किनेका रहेछन् ।
बढ्नी जाने छोटीलाइन टिकट अठार रुपियाँ मात्र थियो । कृष्ण नगर पुगेपछि होटलवाला दलालको तानातानले बास अलग अलग भयो ।
बिहानै बिहानै प्युठान प्युठान भन्दै बसले हर्न्र बजाउन थाल्यो । उनि त्यही बसमा ऊ (कोटफुर्से) पनि चढ्यो तर बसले प्यासेन्जर भर्दै थियो । उनी आत्तिएर खै किन झरे सिटमा, टेपरिकर्डर राखेर । बस उनलाई छोडेर हिडिहाल्यो । बस भालुबाङ रोकियो । उनको टेपरिकर्डर समातेर कोटफुर्से ती व्यक्ति अर्को बस नआउँदासम्म सडकछेउमै उभियो । अर्को बसमा ती व्यक्ति आएर हत्तपत्त यही हो मेरो भनेका थिए । कोटफुर्सेले हजुरकै हो लैजानुस् भन्यो ।
उनी दङ्गै परे । नचिनेको, नजानेको मान्छेले यति इमानदारिता ? तपाईं को होँ भन्नुस ? आजको जमानामा यस्तो मान्छे पनि हुने रहेछन् । उनको जिज्ञासा मेटाउन कोटफुर्सेले थोरै आफ्नो अतीत पस्कियो–
म गाउँको गरिब एक बटुवा थिएँ । मागेको पिठो आफैँ लात्ताले पोखेर मुग्लानी बनेकोजस्तै मान्छे । एकता समाजको सम्पर्कमा आएर मानव जीवन र जगत्को ज्ञान पाएँ । म एकता समाजको साधारण मान्छे हो । यत्ति बुझ्नुस् ।
त्यसपछि हाम्रा आआफ्नो गन्तव्य सुरु भयो ।