बेलबारी, मोरङ ।
दुई सय बाह्रौँ भानुजयन्तीको अवसरमा लेटाङ साहित्य कला सङ्गम, मोरङले लेटाङका साहित्यकार डिल्लीराम ओझाको जीवनगाथा (आत्मवृत्तान्त) ‘लामो यात्रा : सङ्घर्ष, अविराम यात्रा र सपनाहरू’ कृतिको लोकार्पण तथा गुरुसम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रम २०८२ असार २७ गते शुक्रबार लेटाङ नगरपालिकाको सभाकक्षमा सम्पन्न भएको थियो ।
शैक्षिक अग्रज मित्रप्रसाद भण्डारीको प्रमुख आतिथ्य रहेको कार्यक्रममा पूर्व सांसद तथा वरिष्ठ साहित्यकारद्वय हर्कमान तामाङ र खेम नेपाली, लेटाङ नगर प्रमुख भूपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, वडाध्यक्ष राम श्रेष्ठ, साहित्यकार विष्णु न्यौपाने र डा छवि वैरागी घिमिरे विशिष्ट अतिथि थिए ।
प्रमुख अतिथि भण्डारीले लेटाङ बस्नयोग्य ठाउँ भएको हुनाले आफू लेटाङ आएर बसेको र लेटाङमा डिल्लीराम ओझाजस्ता प्रतिभा जन्मिएको बताए ।
अग्रज शिक्षकहरू मित्रप्रसाद भण्डारी, दुर्गा भण्डारी, हर्कमान तामाङ, ईरानराई, चन्द्रप्रसाद गौतम एवम् लेखकका कर्म–मातापिता सूर्यबहादुर निरौला र खिनामाया निरौलालाई सम्मान गरिएको थियो ।
कार्यक्रममा असल शिक्षक र लेखकका रूपमा कृतिकार ओझा र उहाँकी जीवनसँगिनी रत्नमाया ओझालाई ‘ओझा कुलबन्धु उत्थान प्रतिष्ठान’ झापाले सम्मान गरेको थियो ।
सो अवसरमा श्रेष्ठ परिक्रमा, रमेश निरौला, दीप मङ्ग्राती, भूमिका खनाल, उमानाथ बरालले रचना वाचन गरेका थिए ।
सङ्गमका अध्यक्ष गणेश दवाडीको अध्यक्षता तथा उपाध्यक्ष शान्ति पाख्रिन लामा, सचिव पर्शुराम निरौला, सहसचिव टङ्क बरालको कार्यक्रम सञ्चालन एवम् सदस्य अनुपमा घिमिरेको स्वागत मन्तव्य रहेको थियो ।
लामो समय शिक्षा विकास मावि, लेटाङमा शिक्षण गरी अवकासप्राप्त डिल्लीराम ओझाको यो कृति आठौँ हो । २०३५र३६ सालदेखि जनवादी गीतिलेखन प्रारम्भ गरेका ओझाको पहिलो कृति २०४१ सालमा ‘सिर्जनाका सौगातहरू’ लघुउपन्यास, २०४४ सालमा ‘एक आँसु दुई परेलीहरू’, २०५४ सालमा ‘मायाको आँसु’, २०६४ सालमा ‘सिर्जना’, २०६६ सालमा ‘अरुण–वरुण’ र २०६८ सालमा ‘घाइते’ गरी पाँच उपन्यास प्रकाशित छन् । उनको सातौँ कृति आख्यान ‘खोजी र सफलताहरू’ २०७० मा प्रकाशित छ ।
२०१६ कात्तिक २१ मा जन्मिएका कृतिकार ओझाले २०३५/३६ सालदेखि नै हार्मोनियम, गितार, मादल, बाँसुरी वाद्यवादन बजाउँदै जनवादी गीतगायन गर्ने गर्दथे । ओझा २०४१ सालदेखि शिक्षक र २०४४ सालदेखि सेवानिवृत्तिसम्म माविका प्रधानाध्यापक थिए ।



