काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेजीको माग गर्दै सोमबार काठमाडौं सहित देशैभर प्रदर्शन भएको छ । राष्ट्रिय जनमोर्चा केन्द्रीय समितिको आयोजनामा सोमबार काठमाडौंको रत्नर्पाकस्थित शान्ति बाटिकामा विरोध प्रदर्शन गरिएको छ ।
त्यसक्रममा आयोजित कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सचिव हिमलाल पुरीले एमसीसी सम्झौता लामो समयसम्म गुपचुप राखिएको भन्दै अहिले संसदबाट जसरी पनि पास गर्ने भन्ने सरकारको प्रयास आपत्तिजनक भएको बताउनुभयो । उहाँले एमसीसी संसदबाट पास भए नेपाल अमेरिकी साम्राज्यवादको अखडा बन्ने बताउनुभयो । त्यसले नेपालको स्वतन्त्र परराष्ट्र नीतिको उल्लंघन गर्ने पुरीले बताउनुभयो ।

यस्तै, नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीले विकास निर्माणका नाममा साम्राज्यवादी सर्त स्वीकार गर्न नसकिने बताउनुभयो । उहाँले ५०/६० अर्ब रुपैयाँका लागि नेपालको सार्वभौमिकतामाथि आँच आउने काम कुनै पनि हालतमा हुन नहुने बताउनुभयो । एमसीसी परियोजना संसदबाट कुनै पनि हालतमा पास गर्न नहुनेमा प्रवक्ता पुरीले जोड दिनुभयो ।

कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका महासचिव रामबहादुर बुढाले सम्बोधन गर्दै एमसीसीको पुष्ठभूमी सहित नेपालमा किन एमसीसी लागू गर्न खोजिँदैछ भन्ने स्पष्ट पार्नुभएको थियो ।
‘अमेरिकाको ट्विन टावरमाथि भएको आतंकवादी हमलापछि त्यहाँको संसदले सन् २००३ मा अमेरीकाले गरिब राष्ट्रहरुमा लगानी लगाउनु पर्दछ र त्यो लगानी अमेरीकाको स्वार्थ अनुसार हुनु पदर्छ भन्ने कानुन पारित गरेको थियो र त्यसै अनुसार सन् २००४ मा एमसीसी गठन गरेको हो’ उहाँले भन्नुभयो ।

नेपालमा पनि शेरबहादुर देउवाको पालामा नेपालमा पनि एमसीसी लागु गर्नु पर्छ भनिएको तर, त्यसलाई त्यसबेला एमसीसी गुपचुप राखिएको बुढाले बताउनुभयो । विरोध सभाको सञ्चालन राजमो काठमाडौं जिल्ला सचिव छवि खनालले गर्नुभएको थियो ।
