पोखरा । कास्की जिल्लामा क्रियाशिल राजनीतिक दलहरुले एमसीसीविरुद्ध संयुक्त रुपमा विरोध प्रदर्शन आयोजना गरेका छन् ।
राष्ट्रिय जनमोर्चा, नेकपा क्रान्तिकारी (माओवादी) र नेकपा माओवादीले एमसीसी खारेजीको माग गर्दै प्रदर्शन गरेका हुन्।
सिर्जना चोकबाट विभिन्न नारा लेखिएका प्लेकार्ड लिएर जुलुस सहित पृथ्वी चोकमा पुगेर कोण सभामा परिणत भएको थियो । त्यस क्रममा सहभागीहरुले राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर, लिप्याधुरा, लिपुलेकलगाएत मिचिएका जमिन फिर्ता गर जस्ता नारा लगाएका थिए ।
जुलुशपछि आयोजित कोण सभालाई राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बराल, नेकपा माओवादीका नेता भोज बहादुर त्रिपाठी र नेकपा (क्रान्तिकारी माओवादी) का रामजी थापाले सम्बोधन गर्नुभएको थियो ।
भोलि सोमबार राष्ट्रिय जनमोर्चाले देशब्यापीरुपमा एमसीसीविरुद्ध प्रदर्शन गर्ने जनाएको छ । अन्य विभिन्न पक्षसँग संयुक्त वा एकल रुपमा कार्यक्रम आयोजना गरिने अध्यक्ष चित्रबहादुर केसीद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

