काठमाडौँ । अबदेखि बिमितले बिमा दर्ताका बेला चयन गरेको एक मात्र सेवा विन्दुमा सीमित नहुने र नेपालभित्र जुनसुकै स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु तोकिएका सेवा प्रदायक स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका छन् ।
स्वास्थ्य बिमा ऐन–२०७४ र नियमावली–२०७५ मा भएको संशोधनअनुसार आगामी आ.व. २०८२/८३ को प्रारम्भसँगै २०८२ साउन १ गतेदेखि यो नयाँ व्यवस्था लागु भएको हो ।
यस परिवर्तनले बिमितलाई आफ्नो बसोबास वा भ्रमणको क्रममा जुनसुकै ठाउँमा रहे पनि नजिकको स्वास्थ्य बिमामा सूचीकृत स्वास्थ्य संस्थाबाट सेवा लिन सक्ने भएका हुन् ।
यसअगाडि बिमितले बिमा गर्दा छनोट गरेको एक मात्र प्रथम सेवाविन्दुमा नै गई सेवा लिनुपर्ने बाध्यता थियो । यसले गर्दा देशका विभिन्न स्थानमा पुगेका बिमितलाई सेवामा कठिनाइ हुँदै आएको थियो । निरन्तर आउने गुनासोलाई मध्यनजर गर्दै बोर्डले यो निर्णय लिएको बोर्डले बताएको छ ।
‘यसअघि टाठाबाठाले रिफर पत्र मगाएरसमेत सेवा लिन सक्थे भने आम नागरिक मर्कामा पर्ने गरेको अवस्था थियो । अब सबैले सहज रूपमा सेवा लिन पाउनेछन्’ बिमा बोर्डका अधिकारीको भनाइ छ ।
अब देशभर अनुमतिप्राप्त सरकारी स्वास्थ्य संस्थाले नै प्रथम सेवाविन्दुको रूपमा सेवा दिने भएपछि प्रथम सेवाविन्दबाट रिफरको प्रावधान हटेको छ ।
