मोहनविक्रम सिंह ##
‘कामरेड जलजला’ उपन्यासले विश्व इतिहासको समग्र मूल्याङ्कन गर्दै त्यसको उज्ज्वल भविष्यको परिकल्पना गरेको छ तर त्यसले यो कुराको पनि उल्लेख गरेको छ कि समाजमा देखा परेका शोषण, उत्पीडन वा अन्याय, अत्याचारका कारणले संसार नारकीय अवस्थामा पुगेको छ । त्यो समस्याको सही समाधान के हो र कसरी एउटा स्वतन्त्र, सम्पन्न, सुखी र सुन्दर संसार निर्माण गर्न सकिन्छ ? त्यसबारे पनि उपन्यासले एउटा चित्र खिचेको छ । त्यसले यो कुरामा पनि जोड दिएको छ कि त्यस प्रकारको संसारको एउटा परिकल्पना मात्र नभएर त्यसलाई वास्तविकतामा बदल्नु पनि सम्भव छ । मार्क्सवादी–लेनिनवादी दर्शनले त्यसका लागि मार्गप्रदर्शन गरेको छ भने संसारभरि लाखौँलाख कम्युनिस्टले त्यो लक्ष्यलाई वास्तविकतामा बदल्नका लागि सङ्घर्ष गर्दै आएका छन् ।
उपन्यासमा लेखिएको छ– “जलजलाको मनमा मानवजातिको इतिहासका पाना घुम्न थाले ।
मानिसमाथिको शोषण, उत्पीडन वा अत्याचारमाथि आधारित व्यवस्था वा तिनीहरूका विरुद्ध सङ्घर्षको लामो इतिहास छ । त्यसमा मानवजातिको ठुलो शक्तिको दुरुपयोग भएको छ । त्यसरी मानवजातिको ठुलो शक्तिको दुरुपयोग नभएको भए आज मानव समाज कहाँ पुगेको हुन्थ्यो होला ? त्यस अवस्थामा दासयुग, सामन्तवाद, पुँजीवाद र साम्राज्यवादजस्ता व्यवस्था आउने थिएनन् होला । विभिन्न जाति, देश वा वर्गका बिचमा युद्ध हुने थिएनन् होला ? आज समाजको जुन कुरूप, विकृत र नारकीय स्वरूप बनेको छ, त्यो भन्दा र बेग्लै समाजको निर्माण हुन्थ्यो होला ? अनि कस्तो हुन्थ्यो होला त्यो समाज ?”
त्यही प्रकारको आदर्श समाजको निर्माण गर्न संसारभरिका क्रान्तिकारी लडिरहेका थिए । उनीहरूको क्रान्तिकारी सङ्घर्ष वा वर्गसङ्घर्षले त्यस प्रकारको आदर्श समाजको निर्माण गर्नेछ । उनीहरूको त्यस प्रकारको सङ्घर्षले जुन समाजको स्थापना गर्नेछ, त्यो शोषण र वर्गविहीन साम्यवादी समाज हुनेछ ।
माथि जे भनियो, त्यो भविष्यको कुरा थियो । सायद सुदुर भविष्यको कुरा तर मानव समाजको दुखद पक्ष यो हो कि त्यसले लामो समयदेखि अत्यन्त कठिन जीवनको सामना गर्दै आउनुपरेको छ । त्यस प्रकारको कठिन जीवन दुईओटा कुराको परिणाम हो : प्रथम– प्रतिकूल प्राकृतिक अवस्था, द्वितीय– स्वयम् मानव समाजभित्रको नै कुव्यवस्था ।
प्रतिकूल प्राकृतिक अवस्थाका विरुद्ध ता मानिसले सधैँ सङ्घर्ष गर्दै आउनु परिरहेको छ र भविष्यमा पनि गरिरहनु पर्नेछ । त्यसका साथै मानिसले समाजमा देखा पर्दै आएका शोषण, उत्पीडन आदिका विरुद्ध पनि सङ्घर्ष गर्दै आउनुपरेको छ र त्यो सङ्घर्षको लामो इतिहास छ । जलजलाको मनमा एउटा कुरा घुम्यो : यदि मानिसले समाजभित्रका शोषण, उत्पीडन वा अन्याय, अत्याचारलाई सधैँ सहेर बसेको भए, सधैँ शान्ति र एकताको नीति अपनाउँदै आएको भए अहिले समाजको अवस्था कस्तो हुन्थ्यो होला ? त्यो कुराको उल्लेख गर्दै उपन्यासमा लेखिएको छ– त्यो अवस्थामा “दासमालिकको दासमाथि दासता र अन्याय, अत्याचार कायम रहिरहेको हुन्थ्यो होला । राजा र सामन्तवादको शोषण, उत्पीडन र अन्याय कायम रहिरहेको हुन्थ्यो होला । सती प्रथा अहिलेसम्म कायम रहिरहेको हुन्थ्यो होला । महिलाप्रतिको पहिलेको जस्तो भेदभाव रहिरहेको हुन्थ्यो होला । उपनिवेश र साम्राज्यवादअन्तर्गत पराधीनता विश्वव्यापी रूपमा रहिरहेको हुन्थ्यो होला ।”
तर समाजमा त्यस्तो भएन । मानिसले समाजमा देखा परेका शोषण, उत्पीडन वा अन्याय, अत्याचारका विरुद्ध सङ्घर्ष गर्दै आए । वर्गसङ्घर्ष गर्दै आए । त्यसैको परिणाम हो कि समाजमा एकपछि अर्को पुराना प्रतिक्रियावादी व्यवस्था वा प्रचलन ढल्दै गए र समाजले लगातार एकपछि अर्को गर्दै निम्नस्तरबाट उच्चस्तरमा विकास गर्दै आयो ।
उपन्यासले यो कुराको उल्लेख गरेको छ कि मानव समाज सम्पूर्ण ब्रह्माण्डको नै अत्यन्त श्रेष्ठतम् रचना हो तर समाजमा देखा परेका निकृष्ट वा क्रुरतम रूपमा देखा परेका शोषण, उत्पीडन आदिले गर्दा समाज नीचतम र विभत्स रूपमा देखा पऱ्यो । समाजमा त्यस प्रकारका नीचतम प्रकारका कार्य नहुने गरेको भए समाजको धेरै नै उन्नति हुने थियो । मानवजाति धेरै नै सुखी र सुन्दर हुने थियो तर त्यस्तो किन हुन सकेन ?
मानवजातिको उन्नतिको लागि भौतिक आधार तयार हुँदै गए । उत्पादक शक्तिको विकास हुँदै गयो । त्यसको परिणामस्वरूप मानव समाज पहिलेभन्दा धेरै सभ्य र सम्पन्न पनि हुँदै गयो तर समाजमा एकपछि अर्को गर्दै देखा पर्दै गएका शोषक वर्ग—दास, सामन्त वा पुँजीपति वर्ग—का कारणले बहुसङ्ख्यक जनता विपन्न अवस्थामा नै रहन गए । जनताको वर्गसङ्घर्ष वा क्रान्तिकारी आन्दोलनका कारणले समाजमा देखा परेका एक वा अर्का शोषण व्यवस्था समाप्त हुँदै गए† जस्तै कि दास वा सामन्ती समाज व्यवस्था तर एउटा शोषणप्रधान व्यवस्थाका ठाउँमा अर्को शोषणप्रधान व्यवस्थाले वा एक प्रकारका शोषण वर्गका ठाँउमा अर्को शोषक वर्गहरूले स्थान लिँदै गए† जस्तो कि दासव्यवस्थाको ठाउँमा सामन्ती र पुँजीवादी व्यवस्था वा दास वर्गको ठाउँमा सामन्त र पुँजीपति वर्ग ।
बहुसङ्ख्यक जनतालाई नदबाईकन जनतामाथि शोषण गर्नु वा कुनै शोषणप्रधान व्यवस्थालाई कायम राख्नु सम्भव हुँदैनथ्यो । त्यसका लागि राज्यसत्ता वा सेनाको निर्माण भयो तर ठुलो जन समूहलाई मुठ्ठीभर सेनाद्वारा दबाउनु सम्भव हुँदैनथ्यो । त्यसैले शासक वर्गले मुख्य रूपले जनताको मस्तिष्कलाई नै दास बनाउने कोसिस गर्न थाले । त्यसका लागि धर्म, कानुन, साहित्य आदिको निर्माण गर्दै गए । जति शोषणको अनुपात बढ्दै गयो, त्यति त्यति दमनकारी संरचनाको पनि विकास हुँदै गयो तर त्यसका साथै त्यस प्रकारको शोषण वा दमनको प्रतिरोध वा वर्गसङ्घर्षको पनि झन् उच्च रूपमा विकास हुँदै गयो । दासयुगमा दासको विद्रोहको तुलनामा सामन्त युगमा सामन्तका विरुद्ध किसान आन्दोलन, राजतन्त्रका विरुद्ध प्रजातान्त्रिक आन्दोलन, पुँजीवादका विरुद्ध मजदुर वा समाजवादी आन्दोलन, साम्राज्यवादका विरुद्ध राष्ट्रिय मुक्ति आन्दोलन आदिको पनि उच्च रूपमा विकास हुँदै गयो ।
समाजमा शोषण वा शोषण प्रधान व्यवस्थाको विकास हुनुका साथै वर्गसङ्घर्ष पनि अगाडि बढ्दै गयो । त्यस सिलसिलामा उपन्यासमा लेखिएको छ– शोषण, उत्पीडनमाथि आधारित शोषणप्रधान समाजमा वर्गसङ्घर्ष आशाको किरण थियो । क्रान्तिको ज्योति । क्रान्तिको अजेय र अमरज्योति ।
जलजला केही बेर रोकिइन् । उनले माथितिर हेर्न थालिन् । दाया, बाया हेर्न थालिन् । सायद उनले सारा संसारलाई नै हेरिरहेकी थिइन् । उनले संसारका विभिन्न भागमा उठिरहेका वर्गसङ्घर्षका ज्वारभाटालाई हेरिरहेकी थिइन्जस्तो देखिन्थ्यो ।
उनको चेहरामा एउटा ज्योति चम्कियो । उनी धेरै नै प्रसन्न भएकी थिइन । उनलाई यस्तो लागिरहेको थियो, संसारभर चलिरहेको वर्गसङ्घर्षको त्यो शक्ति स्वयम् उनीभित्र पनि प्रवाहित भइरहेको थियो…।
उनलाई यो देखेर धेरै नै प्रसन्नता अनुभव भइरहेको थियो कि वर्गसङ्घर्षको प्रादुर्भाव भएपछि समाजको विकासले नयाँ र उच्च गति लिन थालेको थियो । समाजमा विद्यमान शोषण, उत्पीडन वा पराधीनताका एकपछि अर्को किल्ला ढल्दै गइहेका थिए ।
वर्गसङ्घर्षको विषयमा सोच्दासोच्दै जलजलाको ध्यान गीतामा कृष्णले भनेको यो भनाइप्रति गयो : “यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत” । त्यसको अर्थ यो थियो कि भारतमा जब जब धर्मको पतन हुनेछ, धर्मको पुनरुद्वारको लागि उनले जन्म लिनेछन् । कृष्णको त्यो भनाइ अध्यात्मिक अर्थमा प्रकट गरिएको थियो । त्यसमाथि कामरेड जलजलाको विश्वास थिएन तैपनि उनले सोचिन्, कृष्णको त्यो भनाइ प्रकारान्तरले वर्गसङ्घर्षको सन्दर्भमा पनि लागु हुन्थ्यो । जब जब समाजमा शोषण, उत्पीडन र अन्याय, अत्याचार बढेर जान्थे, वर्गसङ्घर्षको प्रादुर्भाव हुन्थ्यो र त्यसले आवश्यकताअनुसार झन् उच्च रूप लिँदै जान्थ्यो ।
शोषित, उत्पीडितमाथि शोषक वर्गले जतिसुकै दमन गरे पनि शोषण व्यवस्थालाई कायम राख्न उनीहरू सफल हुने गरेका थिएनन् । स्वयम् रोममा दासको विद्रोहलाई दबाउन तिनीहरूलाई छातीमा फलामका किला ठोकेर रुखमा झुण्डाएर हत्या गरिएको थियो तर त्यति ठुलो दमनका बाबजुद दास युगलाई बचाएर राख्नु सम्भव भएको थिएन । किसान आन्दोलनलाई दबाउन त्यसमाथि धेरै अन्याय र अत्याचार गरिएका थिए । तर विश्वमा सामन्तवाद समाप्त भएर गएको थियो यद्यपि नेपालजस्ता कुनै देशमा त्यसका अवशेष अझै पनि बाँकी रहेका थिए तैपनि त्यसको अन्त हुनु अनिवार्य थियो ।
राजतन्त्रलाई कायम राख्न प्रजातान्त्रिक आन्दोलनमाथि संसारभरि नै धेरै दमन र अत्याचार गरिएका थिए तर विश्वस्तरमा राजतन्त्र समाप्त भएर गएको थियो । ती सबै कुरा सोचेर जलजलालाई धेरै नै खुसी लागेर आयो । अब उनलाई यो कुरामा पनि कुनै शङ्का रहेको थिएन कि अन्तमा वर्गसङ्घर्षले पुँजीवादमाथि पनि विजय प्राप्त गर्नेछ र विश्वभरमा समाजवादी क्रान्ति सफल भएर साम्यवादी समाजको पनि स्थापना हुनेछ ।
वर्गसङ्घर्षका खालि भौतिक प्रकारका मात्र उपलब्धि भएनन्, त्यसको विकास क्रममा सर्वहारा वर्गको दर्शनको पनि विकास भयो, क्रान्तिकारी मार्क्सवादी–लेनिनवादी दर्शन । त्यो विश्व सर्वहारा वर्गको हातमा एउटा अजेय हतियार थियो ।
उपन्यासमा लेखिएको छ– “मार्क्सले पुँजीजस्तो महान् ग्रन्थ लेखे । पुँजीपति वर्गले मजदुर वर्गमाथि कसरी शोषण गर्दछ ? त्यस सिलसिलामा उनले अतिरिक्त मूल्यको सिद्धान्तको आविष्कार गरे । उनले ऐतिहासिक भौतिकवादी सिद्धान्तका आधारमा व्याख्या गरेर देखाए, उत्पादक शक्ति वा उत्पादन प्रणालीमा हुने परिवर्तनले नै समाजको उपरी ढाँचालाई निर्धारित गर्दछ । त्यही क्रममा अन्ततः पुँजीवादी वा सम्पूर्ण शोषणप्रधान व्यवस्थाको अन्त भएर साम्यवादी समाजको स्थापना हुनेछ ।”