काठमाडौं । नेपालमा कोरोनका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ । धनगढीमा थप एक जनाको मृत्युपछि कोरोना भाइरस भएको पुष्टि भएसँगै मृतकको संख्या १३ पुगेको हो ।
यअसघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार नै डोल्पाका एक मृतक पुरुषमा कोरोना संक्रमण भएको पुष्टि गरेको थियो । मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. विकास देवकोटाले थप २ जनाको मृत्यु कोरोनाका कारण भएको पुष्टि गर्नुभएको छ ।
मृत्यु हुनेमा डोल्पा जगदुल्ला गाउँपालिका–३ का ५८ वर्षीय पुरुष र कैलालीको धनगढी नगरपालिका ४ कि ५५ वर्षीया महिला रहेको प्रवक्ता देवकोटाले जानकारी दिनुभयो ।
धनगढीकी मृतक महिला लामो समयदेखि मिर्गौला रोगपीडित रहेको र डायलासिसका लागि केही दिन अघि सेती प्रादेशिक अस्पताल पुगेकी ती महिलाको डायलासिसकै क्रममा शुक्रवार राती निधन भएको थियो। मृत्यु पश्चात् गरिएको स्बाव परीक्षणमा कोरोना पोजेटिभ देखिएको सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य महाशाखाले जनाएको छ ।
३२३ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा नेपालमा थप ३२३ जनामा कोरोना पुष्टि भएको छ । शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालया प्रवक्ता डा. विकास देवकोटाले देशभरका परीक्षण केन्द्रमा गरिएको परीक्षणमा थप ३२३ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिनुभयो ।
संक्रमितमध्ये २८६ पुरुष र ३७ जना महिला रहेका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या ३ हजार २ सय ३५ पुगेको छ भने डिस्चार्ज हुनको संख्या ३६५ जान पुगेको छ ।

