काठमाडौँ । आज असार ८ गते आइतबार देशभरि आंशिकदेखि साधारणतया बदली रहँदा पहाडी भूभागको धेरै स्थानमा वर्षा हुने सम्भावना देखिएको छ ।
जल तथा मौसम विभाग मौसम पूर्वानुमान महाशाखाले आज बिहान ६ बजे २४ घण्टाको मौसम पूर्वानुमान जारी गर्दै सो जानकारी दिएको हो ।
दिउँसो
आज देशभर आंशिकदेखि साधारणतया बदली रहँदै बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशलगायत देशको पहाडी भूभागको धेरै स्थानमा तथा बाँकी भूभागको केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको बताइएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशका पहाडी भूभाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
राति
मौसम बदली कायमै रहँदा आज राति कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थान र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति कोशी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको बताइएको छ ।
देशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का देखि मध्यम वर्षा वा हिमपातको सम्भावना रहेको पनि महाशाखाको अनुमान छ ।