धुलिखेल । धुलिखेल नगरपालिकाको सत्रऔँ नगरसभा अधिवेशनबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको वर्तमान सङ्घीय संरचनामा समावेश प्रदेश सभाको औचित्यमाथि प्रश्न उठाउँदै, उक्त सभा खारेज गर्न सङ्घीय सरकारलाई औपचारिक अनुरोध गर्ने निर्णय गरिएको छ ।
नगरसभा सदस्य तथा धुलिखेल नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष अर्जुन न्यौपानेले प्रस्तुत गरेको प्रदेश खारेज अनुरोध सम्बन्धी प्रस्तावमा प्रदेश तहका सम्बन्धमा पुनर्विचार गर्न आवश्यक रहेको उल्लेख गरिएको छ ।
प्रस्ताव माथि छलफल पश्चात् नगरसभाले उक्त प्रस्तावलाई सर्वसम्मत रूपले पारित गरेको जानकारी नगर प्रमुख अशोक ब्याञ्जु श्रेष्ठले दिएका छन् । उनले सञ्जालमार्फत जानकारी दिँदै लेखेका छन्, “धुलिखेल नगरको सत्रऔँ अधिवेशनबाट प्रदेश सभा खारेज गर्न सङ्घीय सरकारलाई अनुरोध गर्ने भनी नगरसभा सदस्य अर्जुन न्यौपानेद्वारा प्रस्तुत प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको हो ।”
नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरू तथा अन्य सभा सदस्यहरूको पूर्ण उपस्थिति र सर्वसहमतिमा पारित सो निर्णयलाई स्थानीय तहबाट उठाइएको गम्भीर नीतिगत सन्देशको रूपमा लिइएको छ ।
वर्तमान सङ्घीय संरचनामा देखिएको कार्यक्षमता, जवाफदेहिता, र लागतसम्बन्धी बहसबिच आएको धुलिखेल नगरपालिकाको यो निर्णयले प्रदेश तहको औचित्य तथा सुधारको आवश्यकता विषयमा राष्ट्रिय तहमा पुनः बहस सुरू गर्ने देखिएको छ ।