कमल पौडेल, प्युठान।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति प्युठानले सञ्चालन गरेको प्रतिगमन विरुद्धको सभा आज सरुमानी गाउँपालिकाको दरबारमा सम्पन्न भएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै राजमो लुम्बिनी प्रदेश सल्लाहकार सुरेश थापाले ठूला पार्टीहरूलाई नेपाली जनताले दिएको भोटको अपमान गरी देश र जनताको हितमा भन्दा आफू र आफ्ना आसेपासेको फाइदाका निम्ति दुरुप्रयोग गरेको बताउनुभयो ।
उहाँले भ्रष्टाचार हिजो राजाका पालादेखि नै भएको र अहिले पनि सत्तासिन दलहरूले अझै संस्थागत गर्दै गएको हुँदा उनीहरू यो समस्याबाट उठ्न नसक्ने प्रष्ट रहेको बताउनुभयो।
कार्यक्रममा नेकपा मसाल लुम्बिनी प्रदेशका प्रवक्ता प्रवक्ता तिलक जिसीले मसान घाटमा पुगिसकेको राजसंस्थालाई ब्युँताएर फेरि राजाको शासन ल्याउँछु भन्ने कुरा आम नेपाली जनताको चाहना नभएको स्पष्ट पार्नुभयो ।

युवाहरूलाई विदेश पठाएर यो देशको विकास गर्न नसकिने हुँदा सृजनशील क्षमतावान युवाहरूलाई नेपालमै रोजगारी सिर्जना गरी देश समृद्ध बनाउनुपर्ने कुरामा जोड दिनुभयो ।
उक्त कार्यक्रममा राष्ट्रिय जनमोर्चा प्युठान जिल्लाका सदस्य ध्रुव थापालेसमेत आफ्नो भनाई राख्नुभएको थियो।
राष्ट्रिय जनमोर्चा जिल्ला समिति सल्लाहकार कुलदेव जिसीको अध्यक्षतामा सुरु भएको कार्यक्रममा स्वागत देवी भण्डारी र सञ्चालन कमल पौडेलले गर्नुभएको थियो।
कार्यक्रमको बीचबीचमा रक्तिम सांस्कृतिक अभियानका कलाकारहरूले विभिन्न जनवादी गीत तथा नृत्य प्रस्तुत गरेका थियो ।