काठमाडौँ । गृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले अब कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागिपर्ने बताएका छन् ।
शनिबार जनकपुरमा पार्टीको मधेस प्रदेश कार्यसमितिको विशेष बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।
कांग्रेसका नेता, कार्यकर्ताहरूले लामो समयसम्म पनि कांग्रेसको सरकार नबनेको भन्ने गुनासो गरिरहेको उल्लेख गर्दै उनले त्यो कुरालाई गम्भीरतापूर्वक लिएको बताए ।
‘लामो समयसम्म कांग्रेसको सरकार बनेन भन्नेकुरा छ, साथीहरुले सही कुरा भन्नुभएको छ,’ लेखकले भने, ‘यो कुरालाई हामीले केन्द्रमा गम्भीरतापूर्वक लिएका छौँ। यो कुरालाई सम्बोधन गर्नका लागि हामी लागिपर्छौं।’
गृहमन्त्री लेखकले मधेस प्रदेश सरकारको आलोपालो नेतृत्व गर्ने सहमति भएको समेत बताए।
भिजिट भिसामा कमजोरी गरेको छैन
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत भिजिट भिसामा जाने युवाबाट रकम असुली गरिएको प्रकरणमा नाम जोडिएपछि गृहमन्त्रालयले त्यसको खण्डन गर्दै विज्ञप्ति निकाल्ने तयारी गरेको मन्त्री लेखकले बताए ।
‘ट्वीटरमा लेख्ने के के काम भइरहेका छन् । म दुई तिन दिन चुपो लागेर किन बसेको थिएँ भने यो कहाँबाट किन भइरहेको छ भन्ने बुझिरहको थिएँ,’ गृहमन्त्री लेखकले भने, ‘धेरै कुरा मैले थाहा पाइसकेँ । आज म यहाँ कार्यक्रमबाट गइसकेपछि गृह मन्त्रालयले विज्ञप्ति निकाल्छ । दुई चार दिनमा म आफैं पनि केही कुरा बोल्छु । त्यसकारण म अहिले धेरै बोल्दिनँ ।’
उनले यो विषयमा आफूले पार्टीपंक्तिको टाउको निहुराउने काम नगरेकाले चिन्ता लिनुपर्ने विषय नभएको पनि दाबी गरे ।
यही विषयमा विमानस्थल अध्यागमन कार्यालयका प्रमुख सहसचिव तीर्थराज भट्टराईलाई नियन्त्रणमा लिएर छानबिन थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले थप कर्मचारीतर्फ पनि अनुसन्धान सोझ्याएको छ ।
आयोगले छानबिन गरिरहेका बेला शुक्रबार मन्त्रालयले कम्तिमा १४ कर्मचारीलाई जिम्मेवारीबाट हटाएको छ ।
विमानस्थल अध्यागमनबाट हटाइएकाहरूमध्ये अधिकांश नायब सुब्बा छन् ।
कतिपय अधिकारीहरूले अख्तियारको अनुसन्धान चलिरहेका बेला ती कर्मचारीलाई मन्त्रालयबाट हटाउनुले थप शंका बढाएको बताएका छन् ।