कञ्चनपुर । राष्ट्रिय जनमोर्चा सुदूरपश्चिम प्रदेश सल्लाहकार केशव सुवेदीको निधन भएको छ ।
७५ वर्षीय नेता सुवेदीको यही जेठ २ गते राति आफ्नै निवास पुनर्वास नगरपालिका–१० पचकडीस्थित आफ्नै निवासमा निधन भएको राजमो कञ्चनपुरका अध्यक्ष रामबहादुर कार्कीले जानकारी दिनुभयो ।
उहाँ लामो समयदेखि सुगर रोगबाट ग्रसित हुनुहुन्थ्यो ।
सुवेदीको आज दोदा नदीमा अन्त्येष्टि गरिएको छ । सुवेदीको पार्थिव शरीरमा राजमो अध्यक्ष चित्रबहादुर केसीले पार्टीको झण्डा ओढाएर अन्तिम बिदाइ गर्नुभयो ।
अन्त्येष्टिमा पार्टीका महासचिव मनोज भट्टलगायत नेता कार्यकर्ता तथा स्थानीयको उपस्थिती थियो ।
सुवेदीले लामो समयदेखि नेकपा (मसाल) को विभिन्न जिम्मेवारीमा रहेर काम गर्नुभएको नेकपा (मसाल) कञ्चनपुरले जनाएको छ ।
तत्कालीन नेकपा (एकता केन्द्र) मा आवद्ध सुवेदी नेकपा (मसाल) र एकताकेन्द्रबीच पार्टी एकता भएपछि मसालसँग जोडिनुभएको थियो । पछि पार्टी विभाजन हुँदा उहाँ मसाल पक्षमा लाग्नुभएको थियो ।
सुवेदीका श्रीमती र ४ छोरा हुनुहुन्छ ।
