काठमाडौं । कर्णाली प्रदेशमा आज (सोमबार) मात्रै ७५ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।
सुर्खेतस्थित प्रादेशिक प्रयोगशाला र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा गरिएको परीक्षणबाट थप ७५ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।
नयाँ पुष्टि भएकाहरुमा दैलेखका ४१ जना, सल्यानका १० जना, सुर्खेतका ५ जना र जुम्लाका १९ जना छन ।
यससँगै कर्णालीमा कुल संक्रमित संख्या १९८ पुगेको मन्त्रालयले जनाएको छ। त्यसमध्ये एक जनाको मृत्यु भैसकेको छ।
यस्तै, आजै गण्डकी प्रदेशमा थप ३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशका अनुसार सोमबार बिहान नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्ला, कावासोती नगरपालिकाका २ जना तथा विनयत्रिवेणी गाउँपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।
कावासोती नगरपालिकास्थित क्वारेन्टिनमा बसेका वर्ष २२ र ३६ का २ जना पुरुष तथा विनयत्रिवेणी गाउँपालिका ठेगाना भै सोही गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एकजना १४ वर्षका पुरुषमा कोरोना संक्रमणको पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
