काठमाडौं । शनिबार सत्तारुढ दल नेकपा र प्रमुख विपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण निर्णय गरेका छन् । सत्तारुढ नेकपाको सचिवालय बैठकले एमसीसी तत्कालका लागि यथास्थानमा राख्ने निर्णय गरेको छ भने नेपाली कांग्रेसले परिवर्तित नक्सा अनुरुप निशानछाप परिवर्तनका लागि संविधान संशोधनका पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई निर्देशन दिएको छ ।
एमसीएका कार्यक्रम यथास्थितिमा
शनिबार एमसीसीबारे छलफल गर्न बसेको नेकपा सचिवालय बैठकले एमसीएका कार्यक्रम तत्कालका लागि यथास्थानमा राख्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध चर्को स्वरमा मत राख्दै आएका नेता एवं अध्ययन कार्यदलका सदस्य भीम रावल र अर्थमन्त्रीसमेतलाई उपस्थित गराइएको बैठकले एमसीएका कार्यक्रम तत्काल यथास्थितिमा राख्ने र एमसीएबारे संसदलाई नै जिम्मा दिने निर्णय भएको प्रवक्ता नाराणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।
‘एमसीसी अनुमोदन नभएको अवस्थामा एमसीएअन्तर्गतका कामहरु जति अनुमोदन भएपछि गर्न सकिने काम छन्, त्यो काम अनुमोदन भएपछि मात्र गर्ने र त्यसबाहेकका अरु काम अनुमोदन नहुँदासम्म नगर्नुपर्ने कामहरु रोकिने समझदारी भएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।
संविधान संशोधनको पक्षमा कांग्रेस
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले संविधान संशोधन प्रस्तावको पक्षमा मतदान गर्न संसदहरुलाई निर्देशन दिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकले संशोधनका पक्षमा मतदान गर्न संसदीय दललाई निर्देशन दिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।
यसअघि संसदको कार्यसूचीमा रहेको संविधान संशोधनको प्रस्ताव कांग्रेसले समय मागेका कारण कार्यसूचीबाट हटाइएको थियो । संशोधनका पक्षमा कांग्रेस नेतृत्वले सहमति गरे पनि बुधबार संसदमा पेस गर्ने भनेको संशोधन प्रस्ताव कांग्रेसले समय मागेकै कारण रोकिएको थियो ।
प्रतिपक्षी दल कांग्रेसले यो निर्णयसँगै अव संविधान संशोधनको ढोका खुलेको छ।
सरकारले लिम्पियाधुरा, लिपुलेक, कालापानी समेटिएको अध्यावधिक नक्सा र संविधानको धारा ९ को उपधारा २ सँग सम्बन्धित अनुसूची ३ मा रहेको निशान छाप परिवर्तन गर्न संशोधन प्रस्ताव दर्ता गरेको छ ।

