काठमाडौँ । विद्यालय शिक्षा ऐन तत्काल ल्याउन माग गर्दै चैत २० गतेदेखि काठमाडौँ केन्द्रित आन्दोलनमा उत्रिएका शिक्षकहरूले आज (चैत २५) देखि शैक्षिक हड्ताल सुरु गरेका छन् ।
यो अवधिमा उत्तर पुस्तिाका परीक्षण नगर्न, तालिम वा गोष्ठिमा सहभागी नहुन र सबै शिक्षकहरूलाई काठमाडौँ आउन नेपाल शिक्षक महासंघले आग्रह गरेको छ ।
विद्यालय शिक्षा ऐनमा आफूहरुका माग समेटी छिटो जारी गर्नुपर्ने भन्दै आन्दोलित भएका नेपालका शिक्षहरुको आन्दोलनप्रति विश्व शिक्षक महासंघले समेत ऐक्यबद्धता जनाएको छ।
महासंघले आइतबार विज्ञप्ति जारी गर्दै शिक्षकहरुको आन्दोलन एक्लो नभएको बताएको हो।
‘नेपालका शिक्षकहरूको आन्दोलन एक्लो छैन,’ विज्ञप्तिमा भनिएको छ, ‘तपाईंको संघर्ष हाम्रो संघर्ष हो।’
गुणस्तरीय, समान र पहुँच योग्य शिक्षा को लागि आवाज उठाएको भन्दै महासंघले शिक्षकहरुको प्रशंसा समेत गरेको छ।
‘नेपालका शिक्षकहरूको व्यावसायिक प्रतिष्ठा, राम्रो कार्यस्थितिहरूको लागि संघर्ष र सामाजिक न्यायका लागि शैक्षिक परिवर्तनको लडाइँ हाम्रो अन्तर्राष्ट्रिय आन्दोलनका लक्ष्यहरूसँग मजबुत रूपमा मेल खान्छ,’ विज्ञप्तिमा भनिएको छ।