आदरणीय विद्यार्थी साथीहरू !
आज व्यवहारिक तथा वैज्ञानिक शिक्षाको अभावका कारण नेपाली विद्यार्थीहरू शैक्षिक बेरोजगार भई दिनानुदिन विदेश पलाइन हुने दर बढ्दो छ। कतिपय क्याम्पस विद्यार्थीविहीन हुने अवस्थातिर उन्मुख भइरहेका छन् । राज्य सञ्चालकहरू आज पनि यस किसिमको समस्याहरूप्रति संवेदनशील हुन सकिरहेका छैनन् ।
यो अवस्थामा पनि तिनै पालै पालो राज्य संचालन गर्नेहरुलाई सपोर्ट गर्नु र तिनैका विद्यार्थी संगठनलाई निर्वाचित गराउनु भनेको झनै आत्मघाती काम हुनेछ ।
हाम्रो गौरवशाली संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैठौं) यस प्रकारको आत्मघाती काम गर्न सक्दैन । बरु तमाम बेथितिको अन्त्य र जनवादी शिक्षाका लागि संघर्ष गर्दै सतिसाल जस्तै ठिङ्ग उभिन चाहान्छ । त्यसमा तपाइँ सम्पूर्ण विद्यार्थीहरूको साथ , सपोर्ट र हौसला मिल्नेछ भन्ने हाम्रो विश्वास रहेको छ ।
विद्यार्थी साथीहरू, देउखुरी बहुमुखी क्याम्पस यस क्षेत्रकै आकर्षक क्याम्पसको रूपमा परिचित छ । यस क्याम्पसलाई नेपालकै उत्कृष्ट आङ्गिक क्याम्पस बनाउन जरुरी छ । त्यसको लागि स्ववियुमा त्यहि प्रकारको कुसल नेतृत्वको खाँचो हुन्छ । क्याम्पस व्यवस्थापन समिति र प्रशासनलाई सकारात्मक कामको लागि सहयोग र नकारात्मक कार्यहरू विरुद्धमा खबरदारी गर्नु हाम्रो भूमिका हो ।
स्ववियुलाई अपेक्षित गति प्रदान गर्न र क्याम्पसमा आर्थिक पारदर्शिताका लागि कोषाध्यक्ष पदमा निर्वाचित हुन अति आवश्यक भएको ठानेर हामीले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका छौँ । अतः यस देउखुरी बहुमुखी क्याम्पस बीएड दोस्रो वर्षमा अध्ययनरत बसन्त राज गोराथोकीलाई आफ्नो अमूल्य मतदान गरी अत्याधिक बहुमतले विजय बनाउनुहुन समस्त विद्यार्थी साथीहरूमा हार्दिक अनुरोध गर्दछौँ ।
(अखिल (छैठौं)को तर्फबाट देउखुरी बहुमुखी क्याम्पस, दाङ का स्ववियु कोषाध्यक्ष पदका उम्मेदवार, वसन्तराज गोराथोकीको अपिल ।)