काठमाडौं । परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कलापानीबाट आफ्ना सैनिक फिर्ता लैजान भारतलाई स्पष्ट सन्देश दिनुभएको छ । चर्चित भारतीय पत्रिका द हिन्दुलाई दिएको अन्तर्वार्तामा परराष्ट्रमन्त्री ज्ञवालीले नेपालसँग भएको सुगौली सन्धिको सम्मान गर्दै नेपाली भूमि कालापानीबाट आफ्ना सुरक्षा फौज फिर्ता लैजान आग्रह गर्नुभएको छ ।
नेपालले सीमा समस्या समाधान गर्न वार्ताको पहल गरिरहे पनि भारतले एकतर्फि गतिविधि गरिरहेको भन्दै मन्त्री ज्ञवालीले समस्या समाधानका लागि सबभन्दा पहिला कालापानीलाई यथास्थितिमा राख्नुपर्ने बताउनुभएको छ ।
अन्तर्वार्तामा ज्ञवालीले भन्नुभएको छ, ‘भारतले सुगौली सन्धिको भावनाअनुरुप अक्षरशः सम्मान गरोस् भन्ने हामी चाहन्छौं । त्यसो गर्ने सबैभन्दा उपयुक्त बाटो भनेकै भारतले कालापानीमा तैनाथ गरेका सुरक्षा फौज फिर्ता गर्ने र सो भूमि नेपाललाई फिर्ता गर्ने नै हो । हामीले त नेपालको भूमिमा सडक निर्माण जस्ता एकपक्षीय काम गरिनु हुँदैनथ्यो र यो कुरा संवादबाटै जतिसक्दो छिटो सुल्झाउनुपर्छ भनेर भनिरह्यौं ।’
नेपाल–भारतबीचको अत्यन्त गहन सम्बन्धप्रति गौरव हुँदाहुँदै पनि भारतले गत नोभेम्बरमा एकपक्षीय रुपमा नेपालको भूमि समेत समेटेर नक्शा जारी गरी नेपाललाई निराश पारेको ज्ञवालीको भनाई छ ।

