टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिकाले सञ्चालन गरेको आँखा परीक्षण शिविरमा आठ सय बढीले निःशुल्क सेवा लिएका छन् भने ५९ जनाको मोतियाबिन्दुको शल्यक्रिया भएको छ ।
नगरपालिकाको आयोजना, नेपाल नेत्र ज्योति सङ्घ आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोग तथा रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समन्वयमा ढाकाबाङमा पाँच सय चार र ढिकुरामा तीन सय एक गरी आठ सय पाँच जनाले आँखा निःशुल्क परीक्षण गराएको र आँखामा समस्या देखिएकालाई निःशुल्क रूपमा चस्मा र औषधी वितरण गरेको स्वास्थ्य शाखा प्रमुख सुरेश गैरेले जानकारी दिनुभएको छ ।
स्वास्थ्य शाखा प्रमुख गैरेका अनुसार ढाकाबाङ र ढिकुरामा आँखा जाँच गर्दा मोतियाबिन्दु देखिएका ५९ जनाको नगरस्तरीय आधारभूत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया भएको र तीन सय बढीले चिदिचौरमा ओपिडी सेवा लिएका छन् ।
ग्रामीण तहमा उपचारको पहुँचमा नभएकालाई सेवा दिने उद्देश्यले शिविर सञ्चालन गरिएको भूमिकास्थान नगरपालिकाले जनाएको छ ।
