टेकराज भुसाल, सन्धिखर्क ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर १ र २ ढाकाबाङमा बुधबार निःशुल्क आँखा शिविरमा ११ बर्षीया बालिकासहित ६० जनामा मोतियाबिन्दु फोला परेको छ ।
भूमिकास्थान नगरपालिकाको आयोजना र नेपाल नेत्रज्योति सङ्घ आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो ।
शिविरमा पाँच सय चार जनाको आँखा निःशुल्क आँखा परीक्षण गरिएको आधारभूत स्वास्थ्य सेवा केन्द्र भूमिकास्थान–२ का इन्चार्ज श्यामलाल चुदालीले जानकारी दिनुभयो ।
भूमिकास्थानको वडा नम्बर १ मा रहेको ढाकाबाङ स्वास्थ्यचौकीमा आयोजित शिविरमा आँखा परीक्षण गराउनेमध्ये ११ वर्षीय बालिकासहित ६० जनामा मोतियाविन्दु देखिएकोमा ३४ जनाको मोतियाबिन्दुको अप्रेसन गर्नुपर्ने भएको र उनीहरूको फागुन २५ गते नगरस्तरीय आधारभूत अस्पताल चिदिचौरमा निःशुल्क शल्यक्रिया गराउने व्यवस्था मिलाइएको उहाँले बताउनुभयो ।
भूमिकास्थान नगरपालिकाको आयोजना र आँखा अस्पताल अर्घाखाँचीको प्राविधिक सहयोगमा गत फागुन १७ गते वडा नं. ९ को ढिकुरामा निःशुल्क आँखा शिविर सम्पन्न गरिएको र २५ गते वडा नम्बर ७ को चिदिचौरमा रणअम्बिका शाह आँखा अस्पताल भैरहवाको समेत समन्वयमा मोतियाविन्दु देखिएकालाई निःशुल्क शल्यक्रिया गरिने नगरप्रमुख झबिलाल थापाले बताउनुभएको छ ।
नगरप्रमुख थापाका अनुसार शिविरमा उपस्थित बिरामीलाई निःशुल्क चस्मा र औषधीसमेत वितरण गरिएको थियो ।