काडमाडौँ । नेपाल वुमन्स टी२० अन्तर्राष्ट्रिय ट्राइ सिरिजअन्तर्गत आज भएको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग २० रनले हारेको छ ।
त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित मैदानमा भएको खेलमा नेदरल्यान्ड्सले टस हारेर ब्याटिङ गर्दै १५७ रन बनाएको थियो।
१५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङ गरेको नेपाल ७ विकेट गुमाएर १३७ रनमा अलआउट हुनपुग्यो।
नेपालविरुद्ध जितका लागि नेदरल्यान्ड्सकी रोबिन रिज्कीले नटआउट अर्धशतक पूरा गर्दै ५९ रन बनाइन्। उनी नै खेलको प्लेयर अफ दि म्याच बनिन्। उनीबाहेक स्टिर क्यालिस २९, आइरिस ज्विलिङ ३१, हिथर सिजर्सले २३ रन जोडेपछि नेदरल्यान्ड्सले ठूलो रनको लक्ष्य दिएको थियो।
बलिङतर्फ नेपालका कविता कुँवर, पूजा महतो, ईश्वरी विष्ट र सीता राना मगरले समान १ विकेट लिए।
लक्ष्य पछ्याएको नेपालका लागि सीता राना मगरले जोडेको २८ रन नै सर्वाधिक रहनपुग्यो। उनीबाहेक कविता जोशीले २७, पूजा महतोले २४, रुबिना क्षेत्रीले ११, कविता कुँवरले ८, इन्दु बर्मा ७, सम्झना खड्का ९, नटआउटद्वय एलिशा यादव ४ र विन्दु रावलले ३ रन जोडे।
नेपालविरुद्ध नेदरल्यान्ड्सका एभा लिन्च र क्यारोलिन डी ल्यांगले समान २ तथा फ्रेडरिक ओभरडिज्क र आइरिस ज्विलिङले समान १ विकेट हात पारे।
शृंखलामा अब भोलि मध्याह्न १२ः१५ मा नेदरल्यान्ड्स र थाइल्यान्डले खेल्नेछन् भने शनिबार नेपालले थाइल्यान्डको महिला टोलीको सामना गर्नेछ। सबै खेल कीर्तिपुरमा हुनेछ।