गलकोट (बागलुङ) । बागलुङमा’फेको’ प्रविधिको प्रयोगबाट पहिलोपटक आँखाको शल्यक्रिया गर्न थालिएको छ ।
नेपाल नेत्रज्योति सङ्घ बागलुङ र धौलागिरी आँखा अस्पतालद्वारा ॅफेको’ प्रविधिबाट मोतियाबिन्दु भएका बिरामीको शल्यक्रिया गर्ने कार्यको आरम्भ गरिएको हो ।
अत्याधुनिक प्रविधिद्वारा गरिने आँखाको शल्यक्रिया सरल ढङ्गले गर्न सकिने नेत्रज्योति सङ्घ बागलुङका सभापति बिन्दुसागर राजभण्डारीले जानकारी दिनभयो । उहाँले संस्थाको पहलमा आँखाको शल्यक्रिया गर्ने उक्त फेको प्रविधि भिर्त्याइएको बताउनुभयो ।
फेको प्रविधिबाट आँखाको शल्यक्रिया गर्दा समय र खर्च दुवै बचत हुने गरेको धौलागिरी आँखा अस्पताल बागलुङका जलबिन्दु तथा नेत्ररोग विशेषज्ञ डा अनिल पराजुलीले बताउनुभयो । उहाँले यो प्रविधि धौलागिरीमै नयाँ र पहिलो भएको बताउनुभयो ।
‘आँखाको समस्या कम्प्युटरबाट हेर्न सकिन्छ । फेको प्रविधिबाट शल्यक्रिया गर्दा समय र खर्च दुवैको बचत हुन्छ । आँखाको समस्या कम्प्युटरबाटै पहिचान गर्न सकिन्छ’ डा पराजुलीले भन्नुभयो– ‘पहिला पहिला आँखा चिरेर शल्यक्रिया गरिन्थ्यो । अहिले आँखाको छेउमै सानो प्वाल पार्ने र कम्प्युटरबाट हेरेर शल्यक्रिया गर्ने प्रविधि नै फेको प्रविधि हो ।’
शल्यक्रियाको भोलिपल्टै घाउ निको हुने उहाँको भनाइ छ । बिनाचिरफार गरिने शल्यक्रियाले बिरामीलाई सहज बनाउने नेत्रज्योति सङ्घ बागलुङका सचिव राजभण्डारीले जानकारी दिनुभयो ।
शल्यक्रिया हरेक महिना १ देखि १५ गतेसम्म गरिने छ भने अन्य १५ दिन गाउँगाउँमा पुगेर शिविरमार्फत शल्यक्रियाका लागि बिरामी रेफर गरिने जनाइएको छ । (रासस)