काठमाडौँ । सरकारले विभिन्न ५८ जिल्लामा भूमि आयोगका अध्यक्ष नियुक्त गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले २०८१ पुस २९ गते सोमबार सो नियुक्ति गरेको हो ।
यसअघि गत कात्तिक १४ गते प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा आयोग गठन भएको थियो ।
आठ सदस्यीय आयोगको उपाध्यक्ष सनतकुमार कार्की (जाजरकोट) रहेका छन् । यस्तै, विज्ञ सदस्यमा सिन्धुपाल्चोकका जगत् बस्नेत र कैलालीका टेकबहादुर शाह, अन्य सदस्यमा दार्चुला गोवर्द्धन कोली, महोत्तरीका गुञ्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाई र तनहुँका आरती भण्डारी रहेका छन् ।
भूमि समस्या समाधान आयोग गठन आदेश २०८१ अनुसार आयोगका अध्यक्ष, उपाध्यक्ष एवम् सदस्यको पदावधि तीन वर्ष रहने छ ।
आयोगका अध्यक्ष रिजालले कात्तिक १४ गते शपथ ग्रहण गर्दै छ महिनाभित्र एक लाखभन्दा बढि भूमिहीन दलित, भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध लालपुर्जा उपलब्ध गराउने कार्ययोजना रहेको सुनाएका थिए ।