बेलबारी (मोरङ) ।
बेलबारी फुटबल क्लब बेलबारीको आयोजनामा प्रस्तावित बेलबारी नगर खेल मैदान बेलबारी–३ मा १६ वर्षमुनिका खेलाडीको फुटबल प्रतियोगिता २०८१ पुस २७ गते शनिबार सम्पन्न भएको छ ।
राष्ट्रको सान, खेललाई सम्मान, बालबालिकालाई कुलतबाट बचाउने हाम्रो अभियान स् बालबालिकालाई कुलतबाट टाढा राखौँ, बाल शोषण राखौँ’ नारासहित सो कार्यक्रम सम्पन्न भएको हो ।
प्रतियोगितामा किड्स फुटबल टुर्नामन्टमा मिक्लाजुङ गाउँपालिकाले जुटविकास फुटबल क्लब इटहरीलाई ३–२ को अग्रताले विजयी बन्यो ।
फस्ट हाफअगाडि मिक्लाजुङका जर्सी नं. २२ का स्टारसन तामाङले १ गोल गरी आफ्नो टिमलाई अग्रता दिलाएका थिए । त्यसैगरी, फस्ट हाफअगाडि नै मिक्लाजुङका नं. १० का समिन राईले १ गोल थपेर हाफ टाइमसम्ममा अग्रता कायम गराएका थिए । सेकेन्ड हाफपछि पनि मिक्लाजुङ गाउँपालिका टिमका जर्सी नं। २२ का स्टारसन तामाङले नै दोस्रो निजी गोल गरेर आफ्नो टिमको विजयलाई सुनिश्चित गरेका थिए ।
सेकेन्ड हाफमा जुटविकासका जर्सी नं. ७ का सुमन रायले आफ्नो टिमका लागि सान्त्वना गोल गरेका थिए । सुमन रायले नै टिमका लागि दोस्रो गोल गरेर खेललाई रोचक मोडमा पुर्याएका थिए ।
प्रमुख अतिथि बेलबारी नगरपालिकाका नगर प्रमुख दिलप्रसाद राईले यो उमेर समूहको खेलले युवा खेलाडी उत्पादनमा महत्त्वपूर्ण योगदान पुगेको र यस्ता प्रतियोगिताले खेलाडीको खेलक्षमतामा वृद्धि हुने भएकाले निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।
कुराकानीको क्रममा क्लबका अध्यक्ष रसिन तामाङले किशोरकालदेखि नै जिन्दगीको निर्माण सुरु हुने हुनाले यही उमेर समूहबाटै नकारात्मक कुरातिर लाग्न नदिई रचनात्मक कार्यतिर अग्रसर गराउन यो उमेर समूहको फुटबल प्रतियोगिताको आयोजना गरेको बताए ।
विजयी टिम मिक्लाजुङलाई ट्रफी, प्रमाणपत्र, मेडलसहित नगर रु, ५१ हजार एक सय ११ तथा उपविजेता जुटविकास टिमलाई रु, २५ हजार एक सय ११ प्रान गरिएको थियो । त्यसैगरी, उत्कृष्ट खेलाडीलाई र उदीयमान खेलाडीलाई प्रोत्साहनस्वरूप रु। १६ हजार पाँच सय मूल्यको साइकल एकेक थान प्रदान गरिएको थियो ।
उक्त अवसरमा पुराना अग्रज खेलाडीहरू गोरेलाल खवास, दीपक राई, चन्द्रबहादुर गुरुङ, भरत राई, उत्तम राई, गिरिजा धिमाल तथा विशेष सहयोगी बुद्ध लिम्बूलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा राजनीतिकर्मीहरू महेन्द्र सुवेदी, ईरानराई, नगेन्द्र जमरकट्टेल, बेलबारी वडा नं। १ र ३ का वडाध्यक्षहरू मणिबहादुर मगर र योगेन्द्र सुवेदी, प्रमुख प्रशाकीय अधिकृत किरण ढकाल, मोरङ फुटबल सङ्घका अध्यक्ष सञ्जीव बुढाथोकी, समाजसेवी मोहन गुरुङ, भोजराज बस्नेत, नवराज राई, भोगेन राई, सन्दीप राई, डा। प्रभाष थापा, रूपेश श्रेष्ठ रहेका थिए ।
प्रतियोगितामा झापा, मोरङ र सुनसरी जिल्लाका १६ टिम सहभागी भएका थिए । प्रतियोगिता पुस १६ गतेदेखि सञ्चालन गरिएको थियो ।
फाइनल खेलमा क्लबका अध्यक्ष रसिन तामाङको अध्यक्षता, सचिव सुमन श्रेष्ठको सञ्चालन तथा उपाध्यक्ष जनक पोखरेलको स्वागत मन्तव्य रहेको थियो ।
