काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५ करोड ८ लाख ६७ हजार ६३३ रुपैयाँ बिगो तोकिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले आइतबार जिल्ला अदालतमा दायर गरेको अभियोग पत्रमा सो बिगो माग गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौँको अनुसन्धान प्रतिवेदनका आधारमा उनीहरूसँग उक्त बिगो माग गरिएको हो ।
लामिछाने र पूर्व डीआईजी छविलाल जोशीविरुद्ध २ अर्ब ४१ करोड ३४ लाख ९१ हजार ७६९ रुपैयाँ बिगो माग गरिएको छ । अभियोग पत्रमा बिगो रकमबाट १ अर्ब १९ करोड ४९ लाख २१ हजार रुपैयाँ जाहेरवालालाई भराइदिनुपर्ने उल्लेख गरेको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले ३९ जनालाई प्रतिवादी बनाउँदै जिल्ला अदालतमा अभियोग पत्र दायर गरेको हो ।
अब जिल्ला अदालत कास्कीको थुनछेक आदेशपछि त्यहाँ रहेका दुई प्रतिवादी रवि लामिछाने र छविलाल जोशीलाई झिकाउँदै प्रहरीले पत्राचार गरिसकेको छ ।
उनीहरुलाई कास्की प्रहरीले पठाएपछि थुनछेक आदेशको प्रक्रिया सुरु हुनेछ।
अभियोग पत्रमा कसको संलग्नता कहाँ कहाँ देखियो भन्ने खुलाइएको छ । यस्तै सबैको छुट्टा छुट्टै बिगो कायम गरिएको छ।
