काठमाडौं । प्रदेश १ को झापा र सुनसरीमा थप ११ जनामा कोरोना संक्रमण देखिएको छ । मंगगलबार झापामा ९ र सुनसरीमा २ जनामा कोरोना संक्रमण देखिएको हो ।
कोशी अञ्चल अस्पताल विराटनगरको प्रयोगशालामा गरिएको परीक्षणमा झापाका थप ९ जनामा र बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा सुनसरीका दुई जनामा कोरोना पोजेटिभ देखिएको प्रदेश १ सरकार स्रोतले जनाएको छ ।
सुनसरीका संक्रमितमध्य एक जना सुरक्षाकर्मी समेत रहेको बताइएको छ। योसँगै प्रदेश १ मा कूल संक्रमितको संख्या ५४ पुगेको छ।
भरतपुर अस्पतालमा एक बिरामीको मृत्यु
चितवनको भरतपुर अस्पतालको आईसीयुमा उपचाररत एक बिरामीको मृत्यु भएको छ । रौतहटको परोहा नगरपालिका ८ का ६८ वर्षका पुरुषको मंगलबार बिहान मृत्यु भएको अस्पतालले जनाएको छ ।
टिबीका बिरामी उनलाई श्वासप्रश्वासको समस्या भएपछि आइतबार राति ९ बजे भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।उनको मृत्युको कारण खुलेको छैन । सोमबार उनको स्वाब संकलन गरी भरतपुरको कोभिड– १९ परीक्षण प्रयोगशाला पठाइएको छ ।
रोल्पामा एक युवाको मृत्यु
यता, रोल्पा अस्पतालको आइसोलेसनमा एक युवकको मृत्यु भएको छ । रोल्पा नगरपालिका वडा नम्बर १ का २२ वर्षीय युवकको सोमबार अपराह्न निधन भएको हो । उनको स्वास्थ्यमा समस्या आएपछि आइतबार राति अस्पताल भर्ना गरिएको थियो ।
दुवै मिर्गौलाले काम गर्न छाडेका उनी एक–डेढ वर्षदेखि काठमाडौंमा बसेर त्रिवि शिक्षण अस्पतालमा डायलासिस गराइरहेका थिए । उनी आइतबार मात्रै काठमाडौंबाट घर (रोल्पा) गएको बताइएको छ ।
उनलाई कोरोना थियो कि थिएन भनेर निश्चित गर्न उनको स्वाब दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।