इटहरी । राष्ट्रिय जनमोर्चाले सङ्घीयता विरोधी राजधानीकेन्द्रित आन्दोलनको तयारीका लागि कोशी प्रदेशस्तरीय कार्यकर्ता भेला सम्पन्न गरेको छ ।
केन्द्रीय प्रतिनिधि हरिकान्त शर्माको प्रमुख आतिथ्यमा २०८१ पुस १३ गते शनिबार सुनसरीको इटहरीमा सो भेला सम्पन्न भएको हो ।
भेलामा मन्तव्य राख्दै शर्माले सङ्घीयता खारेजीका लागि नेपाली जनता एकपटक जुरुक्क उठ्नुपर्ने आवश्यकता औल्याउनुभयो ।
राजमोले सङ्घीयतालाई जबर्जस्ती प्रवेश गराइदेखि नै सङ्घर्ष गर्दै आएको स्मरण गराउँदै उहाँले आगामी चैत २४–३० गतेसम्मको आन्दोलन जनताको भावनाअनुसार आयोजना गरिएको दाबी गर्नुभयो ।
मन्तव्यको क्रममा उहाँले इजरायली विस्तारवादद्वारा प्यालेस्टाइनी जनताको नरसंहारको भर्त्सना गर्नुभयो ।
अमेरिकी साम्राज्यवादको समर्थनमा इजरायलले नरसंहार मच्याइरहेको बताउँदै उहाँले त्यसको विरुद्ध विश्वभरि आवाज उठ्दै गइरहेको जानकारी दिनुभयो ।
प्रदेश अध्यक्ष अमृत पाण्डेको अध्यक्षता तथा अखिल (छैठौं) का केन्द्र्रीय उपाध्यक्ष देवेन्द्र पौडेलको सञ्चालनमा अघि बढेको उक्त कार्यक्रममा अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य विष्णु खवास, राजमो सुनसरीका हरिलाल अधिकारी र राजमो मोरङका विमल पौडेलको पनि आतिथ्य रहेको थियो ।
कार्यक्रममा उपस्थित जनसमुदायलाई जी बरालले स्वागत गर्नुभएको थियो ।
भेलाले राजधानीकेन्द्रित आन्दोलन संयोजन समितिको संयोजक देवेन्द्र पौडेललाई, आर्थिक समिति जी बराललाई र प्रचार प्रसार समितिको संयोजक नवीन पाण्डेलाई जिम्मेवारी दिएको प्रदेश अध्यक्ष पाण्डेले जानकारी गराउनुभयो ।