काठमाडौं । नेपाल पत्रकार महासंघको अध्यक्षमा निर्मला शर्मा निर्वाचित भएकी छिन् । महासंघको केन्द्रीय निर्वाचन समितिले आइतबार अबेर राति सार्वजनिक गरेको मतपरिणामअनुसार प्रेस चौतारी र प्रेस युनियन गठबन्धनबाट अध्यक्षको उम्मेदवार रहेकी शर्मा चार हजार दुई सय ८२ मत प्राप्त गरी निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी रमेश विष्टले तीन हजार दुई सय तीन मत प्राप्त गरे । अध्यक्षका अर्का उम्मेदवार देवीप्रसाद सापकोटाले दुई सय ७० र लालसिंह लामाले ९६ मत पाए ।
वरिष्ठ उपाध्यक्षमा दीपक आचार्यले चार हजार दुई सय ३० मत प्राप्त गरी निर्वाचित हुँदा निकतम प्रतिस्पर्धी रोशन पुरीले दुई हजार आठ सय ८६ मत प्राप्त गरे । उपाध्यक्ष महिलामा नितु पण्डित चार हजार सात सय पाँच मत प्राप्त गरी विजयी हुँदा गङ्गा पौडेल बरालले दुई हजार छ सय ४४ मत प्राप्त गरिन् ।
उपाध्यक्ष समावेशीमा उमिदप्रसाद बागचन्द चार हजार दुई सय ९२ मत प्राप्त गरी विजयी भए । उनका निकतम प्रतिद्वन्द्वी सुभाषप्रसाद साहले दुई हजार ८० मत प्राप्त गरे ।
महासचिवमा रामप्रसाद दाहालले चार हजार ८४ मत प्राप्त गरी विजयी हुँदा निकतम प्रतिद्वन्द्वी लेखनाथ न्यौपानेले एक हजार नौ सय २९ मत प्राप्त गरे ।
सचिव खुलामा रमेश खतिवडाले तीन हजार चार सय मत प्राप्त गरी जित हासिल गरे । सचिव महिलामा सोनी शर्माले चार हजार तीन सय ४७ मत प्राप्त गरी विजयी भए ।
त्यस्तै, सचिव आदिवासी जनजातिमा सविन प्रियासन तीन हजार पाँच सय ३५, सचिव मधेशीमा अशोककुमार तिवारी तीन हजार आठ सय ५८ मत प्राप्त गरी विजयी भए ।
सचिव दलिततर्फ प्रकाश धौलाकोटीले चार हजार एक सय १०, सचिव एशोसिएटतर्फ बैकुण्ठराज पराजुलीले तीन हजार छ सय ४५ मत प्राप्त गरी जित हासिल गरे ।
कोषाध्यक्षतर्फ रामकृष्ण अधिकारीले तीन हजार आठ सय ४७ मत प्राप्त गरी विजयी भए । कोशी प्रदेशतर्फबाट केन्द्रीय सदस्यमा कमल रिमालले पाँच सय २७ मत र शङ्कर खरेलले चार सय ४२ मत, मधेस प्रदेश सदस्यमा राजु विश्वकर्मा दुई सय ९७ मत र राजेशकुमार कर्णले तीन सय ७६ मत प्राप्त गरी विजयी भए ।
महासंघको निर्वाचन यही मंसिर २८ गते भएको थियो ।
हेरौँ कसको कति मत ?


