काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालमा विभिन्न विकास परियोजनाका लागि ९ अर्ब रूपैयाँ अनुदान घोषणा गरेका छन्।
चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको शिष्टाचार भेटवार्तापछि राष्ट्रपति सीले यो घोषणा गरेका हुन्।
भेटपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार, उक्त भेटका क्रममा चीनका राष्ट्रपति सी चिनफिङले नेपाललाई ५० करोड आरएमबी (करिब नौ अर्ब रूपैयाँ) अनुदान सहयोग घोषणा गरेका छन्।
मंगलबार दिउँसो बेइजिङस्थित देउताइ स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा दुवै देशका कार्यकारी प्रमुखबीच द्विपक्षीय भेट भएको थियो। त्यस अवसरमा नेपाल–चीन सम्बन्धका साथै आपसी हित र चासोका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
भेटवार्ताका क्रममा दुवै देशका प्रतिनिधिमण्डल सहभागी थिए। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्री ओलीका साथ परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल र आर्थिक सल्लाहकार डा युवराज खतिवडा, मुख्य सचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव अमृतबहादुर राई र सहसचिव कृष्णप्रसाद ढकाल तथा चीनका लागि नेपाली राजदूत कृष्णप्रसाद ओलीलगायत सहभागी थिए।
चिनियाँ प्रधानमन्त्रीलाई नेपाल भ्रमणको निम्तो
प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षी ली छ्याङलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।
मंगलबार बिहान भएको द्विपक्षीय औपचारिक वार्ताका क्रममा नेपालका तर्फबाट प्रधानमन्त्री ओलीले चिनियाँ समकक्षीलाई भ्रमणको निम्तो दिएका हुन्।
चिनियाँ प्रधानमन्त्री ली छ्याङले अनुकूल समय मिलाएर नेपाल भ्रमण गर्ने वचन दिएको नेपाली प्रतिनिधिमण्डलका सदस्य एवं परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले जानकारी दिए।
नौ वटा समझदारी पत्रमा हस्ताक्षर
प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको छ।
चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच आज बिहान ग्रेट हल अफ पिपलमा भएको भेटवार्तापछि उनीहरूकै उपस्थितिमा दुवै देशका सम्बन्धित अधिकारीहरूले ९ वटा महत्त्वपूर्ण दस्तावेजमा हस्ताक्षर तथा पत्र आदानप्रदान गरेका हुन्।
प्रधानमन्त्रीस्तरीय प्रतिनिधिमण्डलबीच द्विपक्षीय वार्ता तथा हस्ताक्षर कार्यक्रमपछि परराष्ट्र मन्त्रालयका प्रवक्ता एवं सहसचिव कृष्णप्रसाद ढकालले ९ वटा सहमति तथा समझदारी पत्रमा हस्ताक्षर तथा पत्र आदानप्रदान भएको जानकारी दिए।
उनका अनुसार, टोखा(छहरे सुरुङमार्गको पत्रको आदानप्रदान भएको छ। नेपाल–चीन व्यापारसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। नौतले वसन्तपुर दरबार पुनःनिर्माण प्रमाणपत्रको आदानप्रदान गरिएको छ।
थर्मल्ली प्रोसेस्ड बफेलो मिट निर्यात प्रोटोकल, विकास योजनासम्बन्धी समझदारीपत्र र आर्थिक तथा प्राविधिक सहयोग समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
यसै क्रममा नगद अनुदानसम्बन्धी पत्र आदानप्रदान गरिएको छ।
स्वयंसेवी चिनियाँ भाषा शिक्षासम्बन्धी समझदारीपत्रमा पनि हस्ताक्षर गरिएको छ।
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुपबीच सञ्चार प्रविधिसम्बन्धी समझदारीपत्रमा दुवै पक्षले हस्ताक्षर गरी सहकार्य अगाडि बढाउने प्रतिबद्धता जनाएका छन्।
द्विपक्षीय वार्ताका क्रममा कनेक्टिभिटी, पूर्वाधार विकास, औद्योगिक विकास, मेडिकल कोअपरेसन, कृषि, व्यापार, पर्यटन, लगानी, विज्ञान तथा प्रविधि, खेलकुद, विपद व्यवस्थापन, जनता जनता सम्पर्क, गरिबी निवारण लगायतका क्षेत्रमा थप सहयोग आदानप्रदान गर्ने विषयमा छलफल भएको ढकालले जानकारी दिए।
सोमबार चीन भ्रमणमा गएका प्रधानमन्त्री ओली बिहीबार स्वदेश फर्किनेछन्।