काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले मधुमेह, उच्च रक्तचाप, मिर्गौला रोग जस्ता नसर्ने रोगको बढ्दो फैलावट रोक्न एकमहिने परीक्षण तथा पहिचान अभियान सञ्चालन गर्ने बताएका छन् ।
मधुमेह, उच्च रक्तचाप तथा मिर्गौलासम्बन्धी रोगबाट पीडित बिरामी बढिरहेको भन्दै उनले निर्देशिकामार्फत सो घोषणा गरेका हुन्
समयमै रोग पहिचान र उपचारमार्फत बिरामी घटाउने उद्देश्यका साथ हरेक वर्ष एक महिनाभर पहिचान र उपचार अभियान सञ्चालन गर्ने निर्देशिका स्वास्थ्यमन्त्री पौडेलले स्वीकृत गरेका छन् ।
मन्त्री पौडेलले रोगको उपचार र निदानसँगै लाग्नै नदिन रोकथामका उपाय जनस्तरमा पुर्याउन गत साउन २७ गते आफ्नो योजना तथा प्राथमिकतामा घोषणा गरेका थिए ।
सोहीअनुरूप हरेक वर्ष एक महिना रोकथामका लागि खर्चने गरी “समुदायमा नसर्ने रोगहरू (मधुमेह, उच्च रक्तचाप, मिर्गौलासम्बन्धी रोग, शरीरको उचाइ र तौलको अनुपात) पहिचानका लागि एकमहिने अभियान सञ्चालन निर्देशिका २०८१” स्वीकृत गरेका हुन् ।
अहिले देशैभरि मिर्गौलासम्बन्धी रोगबाट पीडित भएर डायलाइसिस हुने बिरामीको सङ्ख्या बढिरहेको छ । सङ्ख्या बढेका कारण भएका डायलाइसिस गराउने संरचनामा दबाब बढ्दै छ ।
त्यसैगरी, खानपान तथा जीवनशैलीका कारण उच्च रक्तचाप तथा मधुमेहका बिरामीसमेत बढिरहँदा स्वास्थ्य उपचार प्रणाली र बिरामी दुवैले मार खेप्नु परिरहेको छ ।
‘बिरामी भएपछि हुने उपचारका लागि हामीले ठुलो स्रोतसाधन खर्चनु परिरहेको छ’ मन्त्री पौडेलले भने– ॅहामी अब उपचारसँगै समयमै रोग लाग्नबाट जोगिन रोकथामका अभियानमा पनि सँगसँगै लाग्ने छौँ ।’
उनले सुरुवाती अवस्थामा थाहा भए नागरिक र राज्यले ठुलो क्षतिबाट जोगिने अवस्था आउने भन्दै सीमित स्रोतसाधनसँग जुध्दै गरेको स्वास्थ्य प्रणाली र नागरिकको पीडा कम गर्न यसले भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आँकडाले पछिल्लो समय नसर्ने प्रकृतिका मिर्गौला फेल हुने, उच्च रक्तचाप, मधुमेहलगायतका रोग प्रमुख स्वास्थ्य समस्याका रूपमा देखिरहेको देखाएको छ