जनकपुरधाम । धनुषाको सदरमुकाम जनकपुरधाममा सप्ताहव्यापी रूपमा मनाइने सीताराम विवाहपञ्चमी महोत्सव आज मङ्सिर १६ गतेदेखि विधिवत सुरु भएको छ ।
त्रेतायुगमा भगवान् राम र आदर्श नारी सीताबिच विवाह भएको धार्मिक मान्यताको आधारमा प्रत्येक वर्ष सप्ताहव्यापी रूपमा विवाहपञ्चमी महोत्सव मनाइन्छ ।
सीताराम विवाहपञ्चमी महोत्सवको पहिलो दिन आज नगरदर्शन कार्यक्रम छ । दोस्रो दिन भोलि सोमबार फूलबारी लीला, तेस्रो दिन मङ्गलबार धनुष यज्ञ, चौथो दिन बुधबार तिलकोत्सव, पाँचौँ दिन बिहीबार मटकोर र छैटौँ दिन शुक्रबार रामसीता स्वयम्वर तथा विवाह कार्यक्रम हुने छ ।
महोत्सवको अन्तिम दिन शनिबार रामकलेवा गरी अयोध्याबाट जन्तीको रूपमा आएका साधुसन्तको बिदाई गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुने छ ।
नगरदर्शनका क्रममा भगवान् राम र लक्ष्मणको प्रतीकका रूपमा दुई बालबालिकालाई जानकी मन्दिरको प्राङ्गणमा घुमाइने जानकी मन्दिरका सहमहन्त रामरोशन दास वैष्णवले बताउनुभयो ।
महोत्सवमा हिन्दूका अतिरिक्त बौद्ध, शिख र इसाईधर्मावलम्बी पनि सामेल हुने गरेका छन् ।

