काठमाडौँ । नेकपा (मसाल) ले पार्टीसदस्य दमयन्तीदेवी उपाध्यायको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।
महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८१ मङ्सिर ८ गते शनिबार शोकवक्तव्य जारी गर्दै मसालले श्रद्धाञ्जली व्यक्त गरेको हो ।
शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै स्मृतिशेष दमयन्ती पार्टीको अनुशासित, प्रतिबद्ध र जुझारु सदस्य रहेको उल्लेख गर्दै वक्तव्यमा जानकारी दिइएको छ ।
उहाँको मृत्युबाट पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको विश्लेषण गरिएको वक्तव्यको पूर्ण पाठ यस्तो छ :
“दाङ जिल्ला गढवा गाउँपालिका निवासी कामरेड दमयन्तीदेवी उपाध्याय (कामरेड जयन्ती) को ७३ वर्षको उमेरमा दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत अवस्थामा निधन भएको छ । हामीले उहाँको मृत्युप्रति गहिरो दुःख व्यक्त गर्दै राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष कामरेड रश्मिराज नेपालीप्रति हार्दिक सहानुभूतिका साथ सन्तप्त सम्पूर्ण परिवारजनप्रति समवेदना प्रकट गर्दछौँ ।
का. दमयन्तीदेवी हाम्रो पार्टीको अनुशासित, प्रतिबद्ध र जुझारु सदस्य हुनुहुन्थ्यो । उहाँको परिवारका सम्पूर्ण सदस्य नेपालको कम्युनिस्ट आन्दोलनसित सम्बन्धित हुनुहुन्छ भने उहाँका पति रश्मिराज नेपाली राष्ट्रिय जनमोर्चाका कार्यकारी अध्यक्ष हुनुहुन्छ । यसरी सम्पूर्ण परिवार नै कम्युनिस्ट आन्दोलनमा आबद्ध हुने पारिवारिक संस्कारका लागि उहाँ स्मरणीय र अनुकरणीय हुनुहुन्थ्यो । उहाँले पञ्चायतकालदेखि नै महिला आन्दोलनका साथै हाम्रो पार्टीका विभिन्न आन्दोलनमा योगदान दिँदै आउनुभएको थियो । उहाँको मृत्युबाट हाम्रो पार्टीको आन्दोलनमा गम्भीर क्षति भएको छ ।
अन्तमा हामीले उहाँप्रति हार्दिक सम्मानका साथ श्रद्धाञ्जली व्यक्त गर्दछौँ ।”





