काठमाडौं । नेपालमा कोरोना संक्रमित भएका २५८ जना मध्ये ३६ जना निको भएर घर फर्किएका छन् । कोसी अस्पतालमा उपचाररत उदयपुरका २५ वर्षीय पुरुष २७ दिनपछि शुक्रबार घर फर्किएसँगै कोरोनाबाट निको हुनेको संख्या ३६ पुगेको हो ।
नेपालमा शुक्रबार थप ९ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मकवानपुरका १ र बाँकेका ८ जनामा संक्रमण देखिएको हो ।
मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगाशाला टेकुमा गरिएको परीक्षणमा मकवापुरका ३७ वर्षिय पुरषमा संक्रमण पोजेटिभ देखिएको हो । यस्तै भेरी अस्पतालको प्रयोगाशालामा भएका परीक्षणमा बाँकेका ८ जना पुरुषमा पोजेटिभ देखिएको हो । उनीहरु १८ देखि ३६ वर्ष उमेर समूहका छन् ।
देशभरीका विभिन्न २४ जिल्लामा कोरोना संक्रमण देखिएको छ । प्रदेश नम्बर १ मा ३५, प्रदेश नम्बर २ मा १ सय जनामा संक्रमण भेटिएको छ । यस्तै बागमती प्रदेशमा १३, गण्डकी प्रदेशमा ३, प्रदेश नम्बर ५ मा १ सय २ र सुदुरपश्चिम प्रदेशमा ५ जना संक्रमित भेटिएका छन् । कर्णाली प्रदेशमा अहिलेसम्म संक्रमण देखिएको छैन् ।
शुक्रबारसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ जनाको नमुना परीक्षण भएको छ । यस्तै आरडीटी विधिबाट ६३ हजार ८५ जनाको आरडिटी परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पिसिआर विधिबाट १ हजार २ सय ५० र आरडिटी विधिबाट ७ सय ५८ गरी २ हजार ८ वटा परीक्षण भएका छन् ।
प्रदेश नम्बर १ मा ८ हजार ९ सय ३३, प्रदेश नम्बर २ मा ५ हजार ९ सय ८२, बागमती प्रदेशमा ९ हजार ६ सय ७३ वटा आरडिटी परीक्षण भएका छन् । यस्तै गण्डकी प्रदेशमा ६ हजार ८ सय ६२, प्रदेश नम्बर ५ मा ७ हजार ९ सय ७१, कर्णाली प्रदेशमा ७ हजार ३ सय ७ र सुदूरपश्चिम प्रदेशमा १६ हजार ३ सय ५७ जनाको आरडिटी परीक्षण भएको प्रवक्ता देवकोटाले बताउनुभयो ।
देशभरीका विभिन्न अस्पतालमा २ सय ६७ आइसोलेसनमा उपचाररत रहेका छन् । उपत्यकामा २७ सहित बागमती प्रदेशमा ३४ जना आइसोलेसनमा रहेका छन् । प्रदेश नम्बर १ मा २२, प्रदेश नम्बर २ मा १ सय २ गण्डकी प्रदेशमा १ जना आइसोलेसनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ सय ८ जना आइसोलेसनमा रहेका छन् । कर्णाली र सुदूरपश्चिममा भने कुनै पनि व्यक्ति आइसोलेसनमा छैनन् ।
अहिले देशभरीका क्वारेन्टिनमा १५ हजार ६ सय ८३ जना रहेका छन् । प्रदेश नम्बर १ मा ८ सय ८५, प्रदेश नम्बर २ मा २ हजार ५१, बागमती प्रदेशमा १ सय १७ र गण्डकी प्रदेशमा ३ सय ७ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा ८ हजार ३ सय २५, कर्णाली प्रदेशमा १ हजार ८२ र सुदूरपश्चिम प्रदेशमा ९ सय १६ जना क्वारेन्टिनमा रहेका छन् ।
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनको आज ५३ दिन पुगेको छ । कोरोना भाइरस नियन्त्रणका लागि सरकारले गत चैत ११ गते यता देशभर लकडाउन गरेको छ । लकडाउनका कारण जनजीवन प्रभावित भएको छ ।
लामो समय भएको लकडाउनले अर्थतन्त्रमा असर पारेको भन्दै सरकारले आइतबारदेखि सवारी साधन सञ्चालनका लागि केही सहज बनाएको थियो। त्यस्तै उपत्यकामा टाइम कार्ड लागू गरी विभिन्न ४२ प्रकारका उद्योग व्यवसाय तथा सरकारी कार्यालयहरु, बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने निर्णय समेत गरेको थियो । तर फेरि कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि सरकारले लकडाउनलाई कडाई गरेको छ ।
शुक्रबार उपत्यकाका विभिन्न ठाउँमा पुग्दा सुरक्षाकर्मीले सवारी साधनको चेकजाँचलाई कडाई पारेको देखिएको छ । प्रहरीले सवारी पास नभएका सवारी साधनलाई नियन्त्रणमा लिई कारबाही गरेको छ । अत्यावस्यक सेवाका सवारी साधनहरु, सञ्चारकर्मी, स्वास्थ्यकर्मीका सवारी साधनलाई भने सञ्चालन गर्न दिइएको छ ।
उपत्यकाका भित्रि सडकहरुमा अत्यावस्यक उपभोग्य पसलहरु खुलेका छन् भने मानिसहरु आफ्नो घर नजिकको पसलसम्म पुगेर किनमेल गरिरहेको देखिन्छ ।

