बुटवल । तराई मधेस जनवादी मोर्चाको चौथो राष्ट्रिय भेला सम्पन्न भएको छ ।
राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टको प्रमुख आतिथ्यमा २०८१ कात्तिक २८ गते आइतबार राजमो लुम्बिनी प्रदेश कार्यालय बुटवलमा सो भेला सम्पन्न भएको हो ।
चारओटा मैनबत्ती बालेर प्रमुख अतिथि भट्टले भेलाको उद्घाटन गर्नुभएको थियो ।
सो अवसरमा मन्तव्य राख्दै महासचिव भट्टले तराई मधेसको इतिहास र सन् १८१६ र १८६० को बेलायत–नेपाल सन्धिबारे चर्चा गर्नुभएको थियो ।
मन्तव्यको क्रममा उहाँले नेपालबाट तराई अलग गर्ने भारतीय साम्राज्यवाद र युरोपीय साम्राज्यवादी मुलुकले खेलेको भूमिकाबारे पनि प्रष्ट पार्नुभयो ।
नेपालमा कहिल्यै, कुनै आन्दोलनमा नउठाइएको र कुनै राजनीतिको पार्टीको एजेन्डाको रूपमा नउठेको विषय सङ्घीयता लाद्ने काम गरी पहिलदेखि नै भारतले पारितपोषित दलाल तराई काङ्ग्रेस, तराई कम्युनिस्ट, जनक्रान्ति दल आदिका नाउँमा खडा गरी तराई टुक्राउने खेलमा लागेको लामो इतिहास पनि उहाँले उल्लेख गर्नुभयो ।
नेपालमा बस्ने भारतद्वारा पालितपोषित व्यक्ति रघुनाथ पण्डितले नेपालमा सङ्घीयता ल्याउनका लागि नयाँदिल्लीस्थित संसद् भवनअगाडि धर्ना बसेको स्मरण गराउँदै उहाँले नेपाललाई दुई राष्ट्र हो भनी मधेसवादी दलले विखण्डनवादी राजनीति गरिरहेको दाबी गर्नुभयो ।

भेलालाई विशिष्ट अतिथि राजमो लुम्बिनी प्रदेश अध्यक्ष बोमबहादुर खत्रीले शुभकामना दिनुभएको थियो ।
कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासङ्घ (अन्टुक) का अध्यक्ष लोकराज भुसाल, अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार सङ्घका अध्यक्ष ढुण्डीराज शर्मा, राष्ट्रिय सहकारी अभियानका अध्यक्ष गङ्गालाल सापकोटा, अखिल नेपाल बुद्धिजीवी सङ्घका सचिवालय सदस्य दुर्गानाथ खरेल, अखिल (छैठौं) का केन्द्रीय सदस्य कुलचन्द्र शर्मा, अखिल नेपाल जनजाति सम्मेलनका केन्द्रीय सदस्य हरि राहाडी, जातीय समता समाजका केन्द्रीय सल्लाहकार दिलबहादुर विक, अखिल नेपाल किसान महासङ्घ (अप्फा) का केन्द्रीय सल्लाहकार गणेश गौतम, कम्युनिस्ट सङ्ग्रहालयका अध्यक्ष चेतनाथ आचार्य, नेकपा (मसाल) रुपन्देहीका प्रवक्ता लालचन्द पन्थ र राजमो रुपन्देहीका अध्यक्ष टानबहादुर केसीको पनि आतिथ्य रहेको थियो ।
उद्घाटन सत्रको अध्यक्षता बद्रे आलमले र सञ्चालन राजाराम चौधरीले तथा स्वागत विकारम चौधरीले गर्नुभएको थियो ।
भेलाको बन्द सत्रमा बद्रे आलमद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन, साङ्गठितक प्रतिवेदन, घोषणापत्र र विधानको संशोधन प्रस्ताव पारित भएको थियो ।

अध्यक्षमा आलम
भेलाले बद्रे आलम अध्यक्ष रहनुभएको ११ पूर्ण दुई वैकल्पिक र तीन सल्लाहकारसहितको १६ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा विकाराम चौधरी र अक्षयलाल साह, महासचिवमा राजाराम चौधरी, सचिवमा रामअधार यादव र कोषाध्यक्षमा सगिर आलम रहनुभएको छ ।
केन्द्रीय सदस्यहरूमा रूपनारायण महतो, हरिकिशोर महतो, जागेश्वर गिरी तथा वैकिल्पक सदस्यमा निसार अहमत खाँ र रामकिसुन बानिया रहनुभएको छ ।
भेलाले दुई जना पछि पूर्ति गर्ने गरी इन्दलप्रसाद केवटलाई सल्लाहकारमा चयन गरेको छ ।
सोही स्थानमा बसेको पहिलो केन्द्रीय समिति बैठकले बद्रे आलम, विकाराम चौधरी र राजाराम चौधरीसहिचको सचिवालय गठन गरेको सूचना प्राप्त भएको छ ।

Advertisement