काठमाडौं । ज्यान मुद्दामा दोषी ठहर भएपनि दुईपटक प्रदेश सांसद र ६ पटक मन्त्री बनेका दीपक मनाङे उर्फ राजीव गुरुङ फेरि जेल जाने भएका छन् ।
गण्डकी प्रदेशका सांसद एवम् पूर्वमन्त्री मनाङेलाई प्रहरीले पक्राउ गरी प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लगेको छ । मंगलबार बिहान स्वयम्भू क्षेत्रबाट प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
ज्यान मार्ने उद्योग मुद्दामा कात्तिक २० गते सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको संयुक्त इजलासले ५ वर्ष कैद सजाय सुनाएको हो ।
सर्वोच्च अदालतले यसअघि उच्च अदालतबाट भएकै फैसलालाई सदर गरेको हो । उच्च अदालतले उनलाई दोषी ठहर गरी पाँच वर्ष कैद सजाय सुनाएको थियो ।
गुन्डागर्दी पृष्ठभूमिका मनाङेको समूहले चक्रे मिलन गुरुङलाई खुँडा प्रहार गरेको घटनामा यो फैसला भएको हो ।
२०७५ पुस ६ गते उनलाई जेलमुक्त गर्न सर्वोच्च अदालतले नै आदेश दिएको थियो।
यसअघि उनी उच्चकै फैसला कार्यन्वयनका लागि २०७७५ वैशाख ६ गते पक्राउ परेका थिए। तर ८ महिनामै उनी कैदमुक्त भए।
कैदमुक्त भएपछि दुई पटक प्रदेश सांसदमा निर्वाचित मनाङे ६ पटक मन्त्री समेत बने।
जिल्ला अदालतमा उपस्थित गराएपछि उनलाई मंगलबार नै कारागार पठाइने छ ।





