मधु क्षेत्री
विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भई रहेको अवस्थामा नेपालमा पनि लकडाउन (बन्दाबन्दी) हुनु स्वाभाविक हो । यस्तो जटिल परिस्थितिमा पनि भारतीय साम्राज्यवादले नेपाल प्रतिको आफ्नो हस्तक्षेपकारी नीति कायम गर्दै नेपाली भूमि लिपुलेक हुँदै चीनको तिब्बतमा पर्ने धार्मिकस्थल मानसरोवर जाने सडक खोलेको छ । जसको उद्घाटन भारतीय रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाटै भिडियो कन्फ्रेन्स मार्फत गरेका छन् ।
यसरी नेपाली जनता एकातिर कोरोना भाइरसको कहरबाट बच्न कोठा भित्र लकडाउनको अवस्थामा छन् भने अर्को तर्फ भारतीय साम्राज्यवादले नाङ्गो रुपमा नेपाली भूमिमाथि निसंकोच डोजर चलाएको छ । तर, बिडम्बना नेपाल सरकारले हामीलाई जानकारी सम्म छैन भन्नु लज्जास्पद कुरो हो । यसरी नेपाली भूमिमाथि एक्लौटी रुपमा डोजर चलाई सडक निर्माण गर्नु भारतीय साम्राज्यवादको दक्षिण एशियाली मुलुक माथिको दादागिरी नै हो । यस्तो अवस्थामा नेपालको जग्गा अतिक्रमण गरी भारतीय साम्राज्यवादले बलजफ्ती सडक निर्माण गर्दा प्रत्येक स्वाभिमानी देशभक्तहरुको मन मस्तिकलाई तरंगित पानु स्वाभाविक हो ।
यसै सिलसिलामा राष्ट्रिय जनमोर्चाले जेठ ३० गते उपत्यकाका पाँच ठाउँबाट सामाजिक दुरि कायम गर्दै भारतीय साम्राज्यवादको यस्तो घृणित कार्यको विरोधमा प्रदर्शन गर्ने निधो गरेको थियो । हामी पनि सुकेधारा चोकमा प्रदर्शन गर्ने छलफल र तयारी गर्दै थियौं । दिनको ठिक १ बजेर २० मिनेट जाँदा हामीले सरसल्लाह गरिरहेकै स्थल पार्टीको केन्द्रीय कार्यालय कपन परिसरमा अचानक प्रहरीले छापामार शैलीमा प्रवेश गरी हामीसँग सोधपुछ गर्न थाले । हाम्रो तर्फबाट नेता आन्नद शर्माले बिरोध प्रदर्शन गर्नुको मकसद प्रहरी सामु राख्नु भयो । छलफलकै क्रममा हाम्रो केन्द्रीय कार्यालयलाई प्रहरीहरुले घेरि सकेका थिए । तैपनि हाम्रो कार्यक्रम पहिल्यै तय थियो । त्यसैले प्रहरीसँग छलफलको कुनै अर्थ थिएन । हामी प्रहरीको घेरा तोड्दै पार्टी कार्यालयबाट बाहिर निस्कियौं ।
राष्ट्रिय जनमोर्चाका नेता आन्नद शर्माको अगुवाइमा हामी हातमा झण्डा र प्लेकार्ड लिएर कपन कार्यालयदेखि नाराबाजि गर्दै बाहिर सड्कमा निस्केका के थियौं, करिब ५० मिटर पुगेपछि प्रहरीले अगाडि बढ्न बाधा अड्चन हाल्न थाल्यो । त्यही स्थाानमा ‘भारतीय साम्राज्यवाद मुर्दावाद, लिम्पियाधुरा हाम्रै हो, लिपुलेक हाम्रै हो, भारतीय सेना कालापानी छोड, नेकपा (मसाल) जिन्दावाद, राष्ट्रिय जनमोर्चा जिन्दावाद’ इत्यादि नारा लगाएर कोणसभा सुरु गरियो । आनन्द शर्माले सम्बोधन गर्दै हुनुहुन्थ्यो, प्रहरीले कोणसभा गर्न दिएन र हामी आठ जनालाई पक्राउ गर्यो ।
यसरी पक्राउ पर्ने नेता कार्यकर्ताहरुमा राजमो नेता आन्नद शर्मा, अखिल नेपाल किसान महांघका अध्यक्ष भैरव रेग्मी, राजमो केन्द्रीय सदस्य बाशुदेव पोख्रेल, नेकपा (मसाल) बाग्मती प्रदेशका प्रवक्ता समिर सिंह, राजमो नेता छबि खनाल, रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय कोषाध्यक्ष बिष्णु शर्मा, मदन पाण्डे र मलाई सामाजिक दूरीसमेत कायम नगरी एउटै गाडीमा हुल्यो । हामी नाराबाजी गर्दै गाडीमा बस्यौं । हामीलाई कपन चौकि मिलन चोकमा पुर्याइयो । त्यहाँ चौकि परिसरमा पनि हामिले नाराबाजी गर्यौं ।

यस्तै, किसिमले अन्य तिन स्थान बनस्थलीचोकबाट १२ जना, कलंकी चोकबाट ४ जना र रत्नपार्कबाट १३ जना साथीहरु पनि गिरफ्तारीमा परेको हामीले जानकारी पायौं । गङ्गबुचोकमा भने सतर्कता अपनाउँदै कार्यक्रम सम्पन्न गर्न सफल भएको जानकारी साथीहरुले गराउनुभयो ।
देशको अतिक्रमित भूमि फिर्ता हुनुपर्छ भनेर आवाज उठाउनेहरुलाई यसरी नै देशका विभिन्न ठाउँबाट प्रहरीले पक्राउ गरिरहेको छ ।
आफ्नो देशको सीमा मिचिँदा, अतिक्रमण हुँदा प्रत्येक देशभक्त स्वाभिमानी नेपालीहरुलाई पिडा हुनु जायज हो र हुनु पर्छ । तर, हाम्रो देशको लम्पसारवादी र निरीह सरकारले भारतसँग प्रतिकार गर्नुको साटो राष्ट्रियताको रक्षाको निम्ति आवाज बुलन्द गर्ने नैसर्गिक अधिकार प्राप्त प्रदर्शनकारीहरुलाई गिरफ्तार गरिरहेको छ । सरकारको यस्तो हर्कतको हामी कडा शब्दमा विरोध र भत्र्सना गर्दछौं ।
यस सन्दर्भमा सरकारलाई हाम्रो गम्भीर प्रश्न छ, पार्टी कार्यालय भित्र बिना जानकारी छापामार शैैलीमा प्रहरी प्रशासन प्रवेश गर्न पाउँछ ? अनि कार्यालय परिसरबाट नेताहरुलाई गिरफ्तार गर्न पाइन्छ ? के यही हो लोकतन्त्र ?
अर्को तर्फ हाम्रो दुई तिहाईको तर निरीह सरकारका प्रधानमन्त्रीले आफ्नो देशको भूमि अतिक्रमण भई भारतीय साम्राज्यवादले लिपुलेक मानसरोवर सड्क निर्माण गर्दा पनि ‘मलाई जानकारी नै छैन, मलाई कसैले रिपोर्टिङ गरेन’ जस्ता गैर जिम्मेवार अभिव्यक्ति दिन्छन् । यस्ता अभिव्यक्तिको जति निन्दा गरे पनि कमै हुन्छ ।
हामीले स्पष्टरुपमा सरकारसँग स्पष्ट रुपमा यी माग राखेका छौंः १) भारतीय साम्राज्यवाद्वारा अतिक्रमित लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई नेपालको नक्सामा समेटी नयाँ नक्सा प्रकाशन गर्नु पर्छ । २) कालापानी क्षेत्रबाट भारतीय सेना हटाइनु पर्छ । ३. कुटनीतिक प्रयासबाट समस्याको समाधान गरिनु पर्छ होइन भने यस्तो गम्भिर बिषयलाई अन्तराष्ट्रिय मुद्दा बनाइनु पर्छ ।
(लेखक रक्तिम साँस्कृतिक अभियानका केन्द्रीय सल्लाहकार हुनुहुन्छ ।)