काठमाडौं । एयर इन्डियाको जहाजमा फेरि बमको हल्ला चलेको छ । सुरक्षा जाँचपछि भने जहाजमा बम नरहेको पुष्टि भएको छ ।
शनिबार दिउँसो ४ः३१ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली फर्किन लागेको एयर इन्डियाको जहाजमा बम राखेको थ्रेट आएको थियो ।
जहाजभित्र बम रहेको सूचना आएपछि नेपाली सेना र प्रहरीले सबै यात्रुलाई ओरालेर जाँच गरेको छ । सुरक्षा जाँचबाट बम नहरेको पुष्टि भएको विमानस्थलका एक अधिकारीले बताए।
बम भएको थ्रेट आएपछि जहाजमा गर्नुपर्ने सबै चेकजाँच गरिएको र त्यो हल्ला मात्रै भएको उनले बताए । ती अधिकारीका अनुसार आइकाओको मापदण्ड अनुसार जहाजको सबै सुरक्षा जाँच गरिएको हो ।
उक्त जहाज भारतको नयाँ दिल्लीबाट ३ः३९ मा १६८ जना यात्रु लिएर आएको थियो । जहाज दिल्ली जानको लागि १६० जना यात्रु सबै जना बोर्डिङ भई सकेको तथा प्रस्थान हुने यात्रुहरुको लगेज व्याग समेत लोड गरिसकिएको थियो।
यसअघि पनि गत साता एयर इन्डियाकै जहाजमा बम रहेको हल्ला चलेको थियो। त्यसअघि भिस्ताराको जहाजमा पनि बम थ्रेटको सूचना आएको थियो। तर ती दुवैमा कुनै खतराजन्य पदार्थ भेटिएको थिएन।