काठमाडौँ । तिहारसँगै लुकिछिपी पड्काउने पटकाका कारण काठमाडौँमा वायु प्रदूषण बढेको छ ।
एयर क्वालिटी इन्डेक्सले शुक्रबार साँझ काठमाडौँको समग्र वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सय ६० रहेको जनाएको हो ।
एक दिनअघि अर्थात् बिहीबार मात्रै काठमाडौँमा एक्यूआई एक सयभन्दा कम देखिएको थियो । इन्डेक्सका अनुसार शुक्रबार साँझसम्म काठमाडौँ विश्वको आठौँ प्रदूषित सहरको सूचिमा सूचिकृत रहेको छ ।
चीनको बेइजिङ विश्वको पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको छ । बिपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीले तिहारमा पट्काउने गरिएको पटकाका कारण वायु तथा ध्वनि प्रदूषण गराउने भन्दै पटका पट्काउन कडाइका साथ नियन्त्रण गर्नुपर्नेमा जोड दिनुभएको छ ।
उहाँका अनुसार एक्युआई शून्यदेखि ५० राम्रो अर्थात् ग्रीन सङ्केतले चिनिन्छ । ५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेँलो सङ्केतले चिनिन्छ । त्यसैगरी १०१ देखि १५० सम्मलाई अस्वस्थ मानिन्छ । यो अवस्थामा श्वासप्रश्वास र मुटुरोगका बिरामीलाई असर गर्छ भन्न्ने बुझिन्छ । १५१ देखि २०० सम्मको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वथ्य मानिन्छ ।
काठमाडौँ उपत्यकाको लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना–२०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआईको मान ३०० भन्दा बढी भएको अवस्थालाई बिपत्को रूपमा लिने उल्लेख गरेको छ ।
पटका पट्काउँदा विभिन्न रासायनिक पदार्थहरू जस्तै सल्फर डाइअक्साइड, नाइट्रोजन अक्साइड, कार्बन मोनोअक्साइड र धुलोका कण वायुमण्डलमा फैलने र प्रदूषण बढाउने भन्दै सतर्कता अपनाउन वातावरणविद्ले आग्रहसमेत गरेका छन् ।
वातावरणविद् भूषण तुलाधारले पटका जस्ता विषाक्त ग्यासले हावा प्रदूषित बनाउने र यसकारण श्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्ने भन्दै पटका पड्काउनमा रोक लगाउनुपर्नेमा जोड दिनुभएको छ ।
वातावरण अभियन्ता राजन थापाले दिपावलीसँगै एकमहिनाअघि गएको बाढी तथा पहिरोका कारण धुला उठ्ने, गाडीले बाहिरका धुलो काठमाडौँ भिर्त्याउने तथा तातो हावा र चिसो हावाको मिश्रणका कारण पनि प्रदूषण गराएको बताउनुभएको छ ।
‘दिपावालीको समयमा भारतमा बढी पटका पट्काउदा प्रदूषण गराएपछि अहिले त भारत सरकारले नियन्त्रण पनि गर्न थालेको छ । पटका मात्रै नभएर अन्य कारण पनि प्रदूषण हुन थालेको छ’ उहाँले भन्नुभयो– ॅअब चिसोमा आगो बाल्ने क्रम बढ्छ । यसले अझै प्रदूषण बढ्दै जाने छ ।’
पटकाबाट निस्कने धुवाँ र ग्यासले एलर्जी, आँखा पोल्ने, छाला चिलाउने, दम, र स्वासप्रश्वाससम्बन्धी समस्या उत्पन्न गर्छ । विषाक्त ग्यासको कारण कलेजो, फोक्सो र मुटुको समस्या पनि हुन सक्ने भन्दै सतर्कता अपनाउन जनश्वास्थ्यविद्ले आग्रह गरेका छन् ।
उनीहरूले पटकाका कारण हुने ठुलो आवाजले मानसिक तनाव, निद्रा नलाग्ने समस्या र उच्च रक्तचापको जोखिम बढाउने तथा यसले कानमा स्थायी क्षति पुर्याउन सक्ने जानकारी दिएका छन् ।
मुलुकी अपराध संहिता–२०७४ को परिच्छेद ७ को विष्फोटक पदार्थसम्बन्धी कसुरको दफा १३८ मा विष्फोटक पदार्थ उत्पादन गर्न नहुने व्यवस्था छ ।
उक्त व्यवस्थामा भनिएको छ– ‘कसैले इजाजतपत्र प्राप्त नगरी वा इजाजतपत्र प्राप्त गरेको भए पनि इजाजतपत्रमा उल्लेख भएका सर्त र बन्देज विपरीत हुने गरी कुनै पनि किसिमको विष्फोटक पदार्थ बनाउन, तयार गर्न वा उत्पादन गर्न हुँदैन ।’
सामान्यतः विष्फोटक पदार्थ भन्नाले डिटोनेटर, ब्लास्टिकक्याप, विद्युतीय ब्लास्टिक क्याप, फ्युज, आतिसबाजी, पटका र त्यस्तै प्रकृतिका अन्य विष्फोटक पदार्थ सम्झनुपर्छ भनी स्पष्टीकरणमा उल्लेख छ । उपदाफा २ को (क) मा कडा विष्फोटक पदार्थ भए दश वर्षसम्म कैद र रु एक लाखसम्म जरिवानाको व्यवस्था छ । (ख) मा नरम विष्फोटक पदार्थ भए पाँच वर्षसम्म कैद र रु पचास हजारसम्म जरिवाना र (ग) मा सामान्य विष्फोटक पदार्थ भए तीन वर्षसम्म कैद वा रु तीस हजारसम्म जरिवानाको व्यवस्था छ ।