बागलुङबजार । बागलुङ जिल्लाको जैमिनी नगरपालिका–७ जैदी धुल्लुका ७४ वर्षीय मोहराज उपाध्यायले ३१ वर्षदेखि निरन्तर मौरीपालन व्यवसाय गर्दै आउनुभएको छ । मौरीपालनबाट उहाँले वार्षिक रु १२ देखि रु १५ लाखसम्म आम्दनी गरिरहनुभएको छ ।
घर्कंदो उमेरमा पनि उहाँ हट्टाकट्टा देखिनुहुन्छ । काम गर्ने जोसजाँगर पनि उहाँमा युवाको जत्तिकै छ । उपाध्यायको घरका बार्दली र बारीका छेउ मौरीका घारैघारले भरिएका छन् । मौरीको घुनुघुनु आवाजसँगै सुरु हुने उपाध्यायको दैनिकी बारीमा काम गरेर बित्ने गरेको छ ।
उपाध्यायका अनुसार बार्दली र बारीमा गरी हाल दुई सय बढी घरमा मौरी छन् । वैदेशिक रोजगारीमा जान असफल भएपछि उहाँले २०५० देखि व्यावसायिक रूपमा मौरीपालन गर्न थाल्नुभएको हो ।
तीन दशक मौरीपालन गर्नुभएका उपाध्यायले हाल सुन्तला, ड्रागन र कागतीखेती समेत गर्न थालेको बताउनुभयो । उहाँको बारीमा पुग्दा फलफूलसँगै अदुवा, लटरम्म फलेका गोलभेँडा र तरकारी फलेका देख्न सकिन्छ । उहाँले सुन्तलका तीन सय र कागतीका एक सय ५० बोट लगाउनुभएको छ । ती बिरुवाले विस्तारै फल दिन थालेको उहाँले बताउनुभयो ।
जैमिनी क्षेत्रमा अगुवा मौरीपालक कृषकका रूपमा परिचित उपाध्यायले फलफूल र तरकारी बिक्री गरी लाखौँ आम्दानी गर्दै आउनुभएको छ ।
उहाँ अगुवा कृषक मात्र नभई कृषकका प्रशिक्षक पनि हुनुहुन्छ । आफूले जानेको ज्ञान सिपलाई किसानमाझ पुर्याउँदा उनीहरूलाई सहयोग पुग्ने उपाध्यायले विश्वास व्यक्त गर्नुभयो । वर्षमा १२ क्विन्टल मह बिक्री गर्ने बताउँदै उहाँले सबै खर्च कटाएर रु १२ देखि रु १५ लाखसम्म आम्दानी हुँदै आएको जानकारी दिनुभयो ।
‘विदेश जानका लागि धेरै प्रयास गरेँ† सफल हुन सकेन† त्यसपछि मौरीपालनतर्फ लागेँ’ उपाध्यायले भन्नुभयो– ‘मैले मौरी पाल्नका लागि तालिम पनि लिएको छु† धेरै ज्ञान बटुलेको छु† २७ ओटा समूहलाई तालिम पनि दिइसकेको छु । कैयौँ किसानले फोनबाट पनि सोधपुछ गर्नुहुन्छ ।’
मह प्रतिकेजी रु एक हजार तीन सयमा बिक्री हुने भन्दै घरबाटै बिक्री हुने भएकाले बजारीकरणको समस्या नभएको उहाँले बताउनुभयो ।
महको माग निकै बढेको हुँदा पुर्याउन नसकेको उपाध्यायको भनाइ छ । कहिलेकाहीँ रोग लाग्ने, आहारको कमी हुनेलगायत समस्या हुने उहाँको भोगाइ छ । मौरीपालनका लागि धेरै शारीरिक श्रम नचाहिने भएकाले सजिलो पेसा मन्ने उहाँले पहाडी क्षेत्र मौरीपालनका उपयुक्त हुने धारणा राख्नुभयो ।
उपाध्यायले भन्नुभयो– ‘२०४८ तिर मौरीपालनसम्बन्धी तालिम लिएँ । त्यसपछि व्यावसायिक रूपमा पाल्न थालेको हुँ । अहिलेसम्म पाल्दै आएको छु । महको माग बढी भएकाले पुर्याउन सकिरहेका छैनौँ ।’
युवा विदेश जानुभन्दा स्थानीय सरकारको सहयोगमा स्वरोजगारमूलक काममा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । (रासस)