पोखरा । कास्की पोखराका पाँच राजनीतिक दलहरूले सहकारीपीडितको पक्षमा सभा सम्पन्न गरेका छन् ।
“सहकारीपीडितलाई न्याय दे झ्, सहकारीपीडितको रकम फिर्ता गर झ्” नाराका साथ २०८१ कात्तिक ८ गते बिहीबार पृथ्विचोकमा उनीहरूले सभा सम्पन्न गरेका हुन् ।
सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका केन्द्रीय सदस्य शङ्कर बरालले सहकारीपीडितले न्याय पाउनुको कुनै विकल्प नभएको बताउनुभयो ।
‘जतिसुकै ठुला दलका नेता, मन्त्री भए पनि सहकारीपीडितको रकम मास्न पाइदैन’ उहाँले अगाडि भन्नुभयो– ‘जनताको रगत, पसिनाबाट जम्मा भएको सहकारीको रकम उनीहरूले फिर्ता पाउनैपर्दछ ।’
नेता बरालले आफ्नो पार्टी सहकारी ठगी गर्ने सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने पक्षमा रहेको बताउनुभयो ।
‘हामी चाहान्छौँ, सहकारी रकम ठगी गर्ने जुनसुकै व्यक्तिलाई छानबिनको दायरामा ल्याइयोस् तर हामी यो कुरामा पनि त्यत्तिकै सचेत छौँ, पूर्वाग्रही प्रकारले कसैका विरुद्ध छानबिन नगरियोस् ।’
यतिखेर राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानमा ल्याइएको प्रसङ्गमा नेता बरालले भन्नुभयो– ‘यो त स्वाभाविकै हो नि । नेता, मन्त्री भएकै कारणले कोही संविधान, कानुनभन्दा माथि हुँदैन । रवि निर्दोष छन् भने प्रमाण जुटाए भइहाल्यो नि ।’
उहाँले रविबाहेक अरू थुप्रै व्यक्तिहरूले सहकारीको रकम हिनामिनामा संलग्न रहेकाले प्रशासन र अदालतले उनीहरू सबैलाई छानबिनको दायरामा ल्याउनुपर्ने तथ्यमा जोड दिनुभयो ।
राजमो कास्कीका अध्यक्ष रविमोहन ढकालले सञ्चालन गर्नुभएको उक्त सभामा नेपाल समाजवादी पार्टी (नयाँशक्ति) का केन्द्रीय सदस्य कृष्णबहादुर गुरुङ, नेपाल कम्युनिस्ट पार्टीका गण्डकी प्रदेश सदस्य कुमार सी र नेकपा (मसाल) कास्कीका प्रवक्ता चन्द्रबहादुर केसीले पनि आआफ्नो दलको धारणा राख्नुभएको थियो ।
सभाको आयोजना नेकपा (मसाल), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेपाल समाजवादी पार्टी (नयाँशक्ति) ले गरेका थिए ।