जेरुसेलम । एक वर्ष लामो गाजा युद्ध युद्धविराम सम्झौतामा पुग्ने घट्दो सम्भावनाबाट निराश भएका केही इजरायली उद्यमीले बन्धक रिहा गर्नेलाई आर्थिक पुरस्कार प्रदान गर्ने फरक मार्ग खोजेका छन् ।
सोडा स्ट्रिमका पूर्व सिइओ डेनियल बिर्नबामले सोमबार एएफपीलाई सामाजिक सञ्जाल एक्समा गाजाबाट जीवित इजरायली बन्धकलाई उद्धार गर्ने जो कोहीलाई एक लाख डलर नगद वा बिटक्वाइन दिने घोषणा गरेपछि करिब १०० ओटा फोनकल प्राप्त भएको बताउनुभयो ।
इजरायलमा आधारित सोडा कम्पनीका पूर्व अध्यक्षले आफ्नो प्रस्ताव बुधबार मध्यरातसम्म मान्य रहेको बताउनुभयो ।
बिर्नबामले अधिकांश कलहरू ठट्टा वा धम्की भए पनि त्यसमध्ये १० देखि २० वैध हुन सक्ने र थप प्रमाणीकरणका लागि इजरायली अधिकारलाई हस्तान्तरण गरिएको जानकारी दिनुभएको छ ।
यति धेरै बन्धकबिच हमाससँग सम्बद्ध नभएका केही नागरिकसँग बन्दीको जानकारी हुन सक्ने उहाँले बताउनुभयो ।
अक्टोबर ७, २०२३ मा हमासले गरेको इजरायली आक्रमणमा २५१ जनालाई बन्धक बनाइएका थिए । तीमध्ये ९७ जना अझै पनि गाजामा बन्दी रहेको इजरायली अधिकारीहरूले बताएका छन् । (रासस/एएफपी)





