कोपेनहेगन । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) को युरोप शाखाका प्रमुखले गाजाबाट एक हजार महिला तथा बालबालिकालाई चाँडै नै युरोप ल्याइने बताउनुभएको छ ।
युद्धले तहसनहस भएको प्यालेस्टाइनी भूभागलाई घेरेको इजरायलले आगामी केही महिनाभित्र थप एक हजार चिकित्सकीय उद्धारका लागि युरोपेली सङ्घलाई सहयोग गर्न प्रतिबद्ध रहेको हान्स क्लुजले एएफपीलाई दिएको अन्तर्वार्तामा बताउनुभएको छ ।
उहाँले राष्ट्र सङ्घको स्वास्थ्य निकाय डब्लुएचओ र यसमा संलग्न युरोपेली मुलुकले उद्धारमा सहजीकरण गर्ने बताउनुभयो ।
बिहीबार राष्ट्र सङ्घका अनुसन्धानकर्ताले इजरायलले गाजाका स्वास्थ्य संस्थालाई जानाजानी निसाना बनाएको र त्यहाँका स्वास्थ्यकर्मीको हत्या र यातना दिइरहेको आरोप लगाएका थिए । कब्जा गरिएका प्यालेस्टाइनी क्षेत्रमा डब्ल्युएचओका प्रतिनिधि रिक पिपरकोर्नले मे महिनामा गाजाबाट लगभग १० हजार मानिसलाई तत्काल चिकित्सा सेवाको लागि बाहिर निकाल्नु आवश्यक रहेको बताएका थिए ।
२०२३ को अक्टोबरमा गाजामा युद्ध सुरु भएयता डब्लुएचओ युरोपले गाजाबाट युरोपका सातओटा देशमा ६०० चिकित्सकीय उद्धारको व्यवस्था गरिसकेको छ । (रासस/एएफपी)