तेलअभिभ । प्यालेस्टिनी इस्लामिक लडाकु समूह (हमास) का प्रमुख तथा गत वर्ष अक्टोबर ७ आक्रमणको मुख्य योजनाकार याह्या सिनवारको मृत्यु भएको इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले बिहीबार राति दावी गर्नुभएको छ ।
प्रधानमन्त्री नेतन्याहूले आफ्ना सहयोगीलाई हमास प्रमुखको मृत्युबारे इजरायली बन्धकका परिवारलाई जानकारी दिन पनि निर्देशन दिनुभयो ।
अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले हमास प्रमुखको मृत्यु न्यायिक भएको बताउनुभयो ।
‘हमासले इजरायलका लागि निम्त्याएको खतरालाई निर्मूल पार्नुपर्छ’ अर्को महिना हुने अमेरिकी राष्ट्रपतीय चुनावका लागि डेमार्क्याटिक उम्मेदवार ह्यारिसले भन्नुभयो– ॅपरिणामस्वरूप विश्वले सुरक्षित महसुस गर्न सक्ने छ र पीडितका परिवारले राहत महसुस गर्ने छन् ।’
इजरायली रक्षा बल (आई.डी.एफ.) ले गाजामा आफ्नो कारबाहीका क्रममा तीन जना हमास लडाकु मारिएको पुष्टि गरेको थियो । इजरायली आक्रमणमा मृत्यु भएका तीन लडाकुमध्ये एक हमासका प्रमुख याह्या सिनवार भएको बताइएको छ ।
आई.डी.एफ. ले एक्समा एक पोस्ट सेयर गर्दै लेखेको छ– “गाजामा आई.डी.एफ. अपरेसनको क्रममा तीन जना मारिएका थिए ।
आई.डी.एफ. र आई.एस.ए. ले आतङ्कवादीमध्ये एक याह्या सिनवार भएको सम्भावनाको वैज्ञानिक पुष्टि गर्न आवश्यक जाँच भइरहेको छ ।”
मङ्गलबार आई.डी.एफ. र शिन बेट सुरक्षा निकायले अक्टोबर ७ मा भएको आक्रमणमा सहभागी हमासका तीन आतङ्ककारी हालैका दिनमा भएका हवाई आक्रमणमा मारिएको जनाएको छ ।
इजरायलले लेबनानमा गरेको हवाई आक्रमणमा हिजबुल्लाहका अर्का उच्च पदस्थ नेता हसन नसरल्लाहको मृत्यु भएको केही हप्तापछि यो घटना भएको हो ।
यसअघि हमासका अर्का वरिष्ठ नेता इस्माइल हनियाको इरानमा मृत्यु भएको थियो । तेहरान र हमासले हनियाको मृत्यु भएको घटनामा आक्रमणको आरोप इजरायलमाथि लगाए पनि इजरायलले न त यो आरोप स्वीकारेको छ, न अस्वीकार नै गरेको छ ।
हालै आई.डी.एफ. ले गाजामा हमास सरकारका प्रमुख राउही मुश्ताहा र हमासको राजनीतिक ब्युरोमा सुरक्षा जिम्मेवारीे सम्हालेका समेह अल सिराजसहित हमासका उच्च पदस्थ अधिकारीहरूको मृत्यु भएको जनाएको थियो ।
टाइम्स अफ इजरायलका अनुसार मङ्गलबार आइडीएफले जाबालियामा भएको हवाई आक्रमण र भिडन्तमा हमासका करिब २० जना लडाकु मारिएको जनाएको छ ।
इजरायली सेनाका अनुसार युद्धका क्रममा सेनाले एउटा हतियार डिपो र अन्य हतियार पनि फेला पारी नष्ट गरेको छ । (रासस/एएफपी)





