दमौली । तनहुँको पर्यटकीय नगरी बन्दीपुर भ्रमणका लागि आएका विदेशी पर्यटक दशैँको टीका लगाउन पाउँदा दङ्ग छन् ।
केही दिनदेखि बन्दीपुरमा रहेका विभिन्न देशका पर्यटक असोज २६ गते शनिबार दशैँको टीका लगाउन पाउँदा खुसी भएका हुन् ।
बन्दीपुरस्थित होटल हिमालय दरबारमा बसेका उनीहरूलाई होटल सञ्चालकले टीका र जमरा लगाइदिएका थिए । होटलका सञ्चालक वैश गुरुङले दसैँको टीका र जमरा लगाएपछि पर्यटकले खुसी व्यक्त गर्दै यस चाडको बारेमा सोधपुछ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘नेपालीको रीतिरिवाज र कलासंस्कृतिबारे विदेशी पर्यटक उत्सुक भएको पायौँ । दशैँको बारेमा सोधपुछ गरेपछि हामीले यस पर्वको बारेमा जानकारी गरायौँ ।’
केही दिनदेखि बन्दीपुर भ्रमणमा रहेका विदेशी पर्यटकलाई दशैँ टीका लगाएर बिदाइ गरेको उहाँको भनाइ छ । दशैँ सुरु भएसँगै बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको गुरुङले बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘अब बन्दीपुरमा पर्यटकको चहलपहल हुने समय हो । विदेशी पर्यटकको आगमन बढ्दो अवस्थामा छ ।’ (रासस)