काठमाडौँ । बौद्ध पुरातात्त्विक सहर निर्माणसम्बन्धी विचारगोष्ठी आगामी फागुन १६–१७ गते हुने भएको छ ।
बौद्ध पुरातात्त्विक सहर निर्माण अभियानका अध्यक्ष दुर्गा पौडेलले २०८१ असोज २४ गते प्रेसवक्तव्य जारी गर्दै सो जानकारी दिइएको हो ।
वक्तव्यमा पहिले असोज महिनामा सो गोष्ठी गरिने भनिएकोमा तयारी नपुगेकाले फागुनमा सो कार्यक्रम गरिने स्पष्ट पारिएको छ ।
करिब डेढ सय बौद्ध सभ्यतासित सम्बन्धित स्थानलाई जोडेर पुरातात्त्विक सहर निर्माण गर्दा नेपालको प्राचीन सभ्यताको संरक्षणका साथै पर्यटनको विकासमा आयाम थपिने विश्वास प्रेसवक्तव्यमा व्यक्त गरिएको छ ।
यस्तो छ, प्रेसवक्तव्यको पूर्ण पाठ :
“बौद्ध पुरातात्त्विक सहर निर्माण अभियान समितिले यही सालको असोजमा उक्त अभियानको विषयमा काठमाडौँमा बृहत् विचारगोष्ठीको आयोजना गर्ने निर्णय गरेको थियो तर त्यसका लागि आवश्यक तयारी पूरा हुन नसकेकाले त्यो विचारगोष्ठी यही सालको फागुन १६ र १७ गते काठमाडौँमा आयोजना गर्ने ठेगान भएको गराउन चाहन्छौं ।
उक्त समितिको हाल बुटवलमा बसेको बैठकले भैरव रेग्मी, कृष्ण अधिकारी, डा. श्रीधर गौतम र राजेन्द्र ढुङ्गानालाई समितिमा थप्ने निर्णय गरेको छ ।
हामीले यो कुराको पहिले नै जानकारी गराइसकेका छौँ कि हाम्रो विचारगोष्ठीको उद्देश्य कपिलवस्तु, रुपन्देही र नवलपरासीका बौद्ध सभ्यतासँग सम्बन्धित पुगनपुग डेढ सय स्थानलाई मिलाएर एउटा बौद्ध पुरातात्त्विक सहर निर्माणको लागि जनमत र आधार तयार पार्नु हो ।
कार्यक्रममा उक्त विषयसँग सम्बन्धित कैयन् विद्वान्द्वारा कार्यपत्र प्रस्तुत गरिने छ । त्यस प्रकारको सहरको निर्माणबाट नेपालको प्राचीन सम्भतालाई विश्वसमक्ष प्रस्तुत गर्न महत्त्वपूर्ण योगदान पुग्नुको साथै त्यसले नेपालको पर्यटनको विकासमा समेत नयाँ आयाम थप्ने छ । त्यसैले उक्त विचारगोष्ठीलाई समर्थन र सहयोगका लागि हामीले सबै पक्ष तथा आम जनतासित समेत अपिल गर्दछौँ ।”