बेलबारी, मोरङ । कण लघुकथा मञ्च बेलबारी, मोरङको अध्यक्षमा दिप मङ्ग्राती चयन भएका छन् ।
मञ्चको २०८१ असोज १७ गते बिहीबार बेलबारी नगरपालिकाको बेतनाकक्षमा सम्पन्न प्रथम साधारणसभाले दिपलाई अध्यक्षमा चयन गरेको हो ।
कोशी प्रदेशकाले मात्र साधारण सदस्य तथा देशभरका लघुकथाकार/साहित्यकारले आजीवन सदस्य बन्न पाउने व्यवस्था रहेको मञ्चको उपाध्यक्षमा उमा सिजापती, सचिवमा शारदा दाहाल भण्डारी, सहसचिवमा पवित्रा सापकोटा र कोषाध्यक्ष कुमार श्रेष्ठ चयन भएका छन् ।
त्यस्तै, सदस्यहरूमा विष्णु भण्डारी आचार्य, रोशन पराजुली, सुशीला सुवेदी पाठक र अम्बिकाप्रसाद कोइराला ‘अकेला’ तथा लेखा सदस्यमा नवराज पोखरेल ‘नवशीला’ निर्वाचित भएका छन् ।
लघुकथाको विकास, विस्तार र प्रचारलाई मुख्य लक्ष्य राखेर जिल्ला प्रशासन कार्यालय मोरङमा २०८१ वैशाख २४ गते दर्ता भएको मञ्चले पाँच महिनाभित्रै कार्यसमिति प्राप्त गरेको हो ।
सोही अवसरमा प्रमुख अतिथि बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राई, विशिष्ट अतिथिहरू वरिष्ठ साहित्यकार हर्कमान तामाङ, वरिष्ठ संस्कृतिकर्मी मधु गुरुङ, बेलबारी प्रज्ञा–प्रतिष्ठानकी अध्यक्ष रेखा सुवेदी, मञ्चका अध्यक्ष मङ्ग्रातीले कोशी प्रदेशका मोरङ, सुनसरी, झापा, उदयपुर, ओखलढुङ्गा, भोजपुर, सङ्खुवासभा र तेह्रथुम गरी आठ जिल्लाका ८८ जना लघुकथाकारका ९४ ओटा लघुकथा सङ्गृहित कृति ‘कण’ लाई सार्वजनिक गरेका थिए ।
सो अवसरमा मन्तव्य राख्दै प्रमुख अतिथि राईले मौलिक भाषा, संस्कृति र समकालिन विषयलाई विषयवस्तु बनाएर साहित्य लेखिनुपर्ने विषयमा जोड दिदै ‘उल्का’ शीर्षकको आफ्नै लघुकथा सुनाएका थिए ।
कार्यक्रममा अतिथि सम्पादक ईरानराईले सिर्जना नमर्ने गरी कम्तीमा १०० शब्द शुद्ध लेख्न ख्याल गर्दै सङ्ग्रहका लागि बेलैमा रचना प्रेषित गर्नुपर्ने बताए ।
नवनिर्वाचित अध्यक्ष मङ्ग्रातीले मञ्च र लघुकथालाई अझ व्यापक बनाउँदै नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता जनाएका थिए ।
कार्यक्रममा रमेन्द्र कोइराला, शुक्रराज कुँवर, यज्ञ परिश्रमी, दिलिप राई सगर, निरज कोइराला, जेबी खत्री, ऋषि तिवारी, भूपाल अधिकारी, तीर्थराज सिग्देलले लघुकथा वाचन गरेका थिए ।
उक्त कार्यक्रममा सरण राई, हरिकान्त पौडेल, तिला लेकाली र रमेश निरौला, विनोद घिमिरेको आतिथ्यका साथै मन्तव्य रहेको थियो ।