पाटन । मदन पुरस्कार गुठीले २०८० सालको मदन पुरस्कार पत्रकार एवम् लेखक मोहन मैनालीलाई प्रदान गरेको छ भने जगदम्बाश्री पुरस्कार प्राडा योगेन्द्रप्रसाद यादवलाई प्रदान गरेको छ ।
गुठीद्वारा २०८१ असोज १७ गते बिहीबार ललितपुरको रातो बङ्गला स्कुलमा आयोजना गरेका समारोहमा गुठीका अध्यक्ष कुन्द दीक्षितले मैनाली र यादवलाई पुरस्कार प्रदान गर्नुभयो ।
गुठीको साधारणसभा बैठकले गरेको निर्णयअनुसार मदन पुरस्कार–२०८० बाट “मुकाम रणमैदान” का लेखक मैनालीलाई तथा जगदम्बाश्री–२०८० बाट प्राडा यादवलाई सम्मान गरिएको हो । पुरस्कारको राशि जनही रु चार लाख रहेको छ ।
गुठीका अध्यक्ष दीक्षितले नेपालका भाषाको पहिचान, संरक्षण र अध्ययन–अनुसन्धानका क्षेत्रमा निरन्तर समर्पित भई गहकिलो योगदान गरेकोमा प्राडा यादवलाई जगदम्बाश्री पुरस्कार प्रदान गरिएको जानकारी दिनुभयो ।
“मुकाम रणमैदान” का लागि मदन पुरस्कार प्राप्त गर्नुभएका पत्रकार तथा लेखक मैनालीको यो पाँचौँ पुस्तक हो । मैनालीले यसअघि “मान्ठा डराएको जुग”, “उपल्लो थलो”, “देखेको देश” र “आकाशमुखी” कृति प्रकाशन गरिसक्नुभएको छ ।
पुरस्कार ग्रहणपछि मदन पुरस्कार विजेता मैनालीले आफूले “मुकाम रणमैदान” मार्फत नेपाल–अङ्ग्रेज युद्धको बखान गरेको बताउनुभयो ।
‘मैले मुकाम रणमैदान : नेपाल–अङ्ग्रेज युद्धको बखान” मार्फत त्यही युद्धका २६ पर्व सुनाएको छु । नेपालको वर्तमान अवस्थालाई धेरै किसिमले डोर्याइरहेको दुई सय १० वर्षजति अघिको त्यस लडाइँबारे सिपाहीले त्यति बेलै भनेका सत्य कथाको पुनःकथन गरेको छु’ उहाँले भन्नुभयो ।
जगदम्बाश्री पुरस्कारबाट सम्मानित प्राडा यादवले नेपालका भाषाको क्षेत्रमा अध्ययन–अनुसन्धानका लागि जगदम्बाश्रीबाट सम्मानित गरेकामा कृतज्ञता ज्ञापन गर्नुभयो ।
‘विभिन्न सङ्कटग्रस्त भाषाको सम्भाव्यतालाई दृष्टिगत गरी तिनको प्रयोग शिक्षालगायत सञ्चार, प्रशासन, साहित्य आदि क्षेत्रमा क्रमशः बढाउँदै जानु आवश्यक देखिन्छ तर तिनको संरक्षण र सम्वर्द्धनको सर्वाधिक जिम्मेवारी सम्बन्धित भाषिक समुदायमा निहित हुन्छ’ उहाँले भन्नुभयो ।
गुठीले मदन पुरस्कार–२०८० का लागि पाँच पुस्तक छनोट गरेको थियो । भक्त स्याङ्तानको “डम्फुको आत्मालाप”, जीवन क्षेत्रीको “नुनतेल”, भावेश भुमरी र प्रणिता चामलिङको “भावलिपी”, मोहन मैनालीको “मुकाम रणमैदान” र रोशन थापा ‘नीरव’ को “सन्त्रासका साठी दिन” रहेका थिए । मदन पुरस्कार २०८० छनोटका लागि तीन सय चार पुस्तक प्राप्त भएकोमा पाँच कृतिलाई अन्तिम छनोट गरिएको अध्यक्ष दीक्षितले जानकारी दिनुभयो ।
मदन पुरस्कार २०१२ सालमा स्थापना भएको हो । यो पुरस्कार पहिलोपटक २०१३ सालमा गद्य विधामा सत्यमोहन जोशीको “हाम्रो लोक संस्कृति”, सामाजिक शास्त्रमा चित्तरञ्जन नेपालीको “जनरल भीमसेन थापा” र तत्कालीन नेपाल तथा विज्ञान विधामा बलराम जोशीको “अधिकविभव स्थिरविद्युत् उत्पादक” पुस्तकलाई दिइको थियो ।
गुठीले २०४५ सालमा रानी जगदम्बाको निधनपछि उहाँकै सम्झनामा जगदम्बाश्री सम्मान स्थापना गरेको थियो । यो सम्मानबाट पहिलोपटक स्वर सम्राट नारायणगोपाल गुरुवाचार्य सम्मानित हुनुभएको थियो ।

