काठमाडौं । भारतले नेपाली भूभाग लिपुलेकमा अतिक्रमण गरेर एकतर्फी रुपमा बनाएको सडक सञ्चालनमा ल्याएको छ । भारतले आफ्नो भूमि धार्चुलादेखि नेपाली भूभाग लिपुलेकसम्म एक पक्षीय रुपमा सडक निर्माण गरी सञ्चालनमा ल्याएको हो।
भारतीय रक्षामन्त्री राजनाथ सिंहले शुक्रबार एक कार्यक्रमबीच सो सडकमा आवागमनको आरम्भ गरेका छन् । भिडियो कन्फरेन्समार्फत सो सडक उद्घाटन गरेको उनले शुक्रबार ट्विटरमा जानकारी गराएका छन्।
सिंहले ट्विटरमा लेखेका छन्, ‘मानसरोवर यात्राको लिंक रोड उद्घाटन गर्न पाउँदा खुशी लागेको छ। बीआरओ (बोर्डर रोड अर्गनाइनेसन)ले धार्चुलादेखि लिपुलेक (चीन सीमा) कैलाश मानसरोवर यात्रा रुटको रुपमा चिनिन्छ,’ उनले लेखेका छन्, ‘पिथौरागढदेखि गुन्जीसम्म जाने मोटरहरुको समूहलाई विदाई गर्दै सो रुटको उद्घाटन गरेको छु ।’
गत कात्तिकमा भारत सरकारले जारी गरेको नयाँ नक्सामा कालापानीसहित लिपुलेक र लिम्पीयाधुरासहित नेपाली भूभागलाई समेटेर आफ्नो नक्सामा पारेपछि त्यस विषयमा ठूलो विवाद भएको थियो।
नेपालले सो सीमासम्बन्धी विषयलाई समाधान गर्न वार्ताको प्रस्ताव गरे पनि भारतले चासो देखाएको छैन । भारतले सीमाको विषय संवादमार्फत् समाधान गर्ने भने पनि हालसम्म वार्ता हुन सकेको छैन ।
नेपालले लिपुलेकभन्दा पनि उत्तर पश्चिम क्षेत्रमा रहेका लिम्पीयाधुरालाई पनि आफ्नो भूभागको रुपमा पुराना दस्तावेजहरु सार्वजनिक गरेको छ ।
भारतीय सेनाहरु लिपुलेकभन्दा पनि पूर्वतर्फस्थित नेपालको कालापानी क्षेत्रमा सैनिक शिविर राखेर बसिरहेको छ ।